२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

छडको भाउ आधा घट्यो, नयाँ घर बनाउनेलाई फाइदा

भारतमा छडको भाउ आधा घटेको छ । जसबाट नयाँ घर बनाउनेलाई फाइदा हुने भएको छ । सरकारको प्रयासले छडको भाउ घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा केही महिनाअघिसम्म छडको भाउ प्रतिटन ८५ हजार भारु थियो भने अहिले घटेर ४५ हजार प्रतिटन पुगेको छ ।

भारतमा ब्रान्डेड छडको दर समेत घटेको छ । भारत सरकारले महंगी कम गर्न पेट्रोलियम पदार्थको मूल्य समेत घटाएको छ । सरकारले स्टीलको मूल्य नियन्त्रित गर्न निर्यात कर बढाएको छ ।

निजी होटलमा सार्वजनिक शौचालय
मङ्गलबारे, २४ जेठ (रासस):इलामको प्रमुख पर्यटकीयस्थल कन्याममा रहेको एक निजी होटलले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ । पर्यटन व्यवसायी टीका ओडारीले आफ्नै लगानीमा सञ्चालित ‘कन्याम इन होटल’ मा रहेका शौचालयलाई सार्वजनिक खुला गर्नुभएको हो ।

यस पर्यटकीयस्थलमा हालसम्म सार्वजनिक शौचालय नभएकाले आफूले होटललाई नै प्रयोग गर्ने गरी यस्तो काम थालिएको उहाँले बताउनुभयो । पर्यटन व्यवसायीले कन्यामलाई फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको माग गर्दै आए पनि पूरा हुनसकेको छैन । सूर्योदय नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्न नसक्दा कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका छन् ।

देशकै ठूलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ । आफ्नो होटलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई समेत सहज भएको व्यवसायी ओडारीले बताउनुभयो ।

कन्याममा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । उहाँले पर्यटकीयस्थल कन्याममा पहिलोपटक व्यावसायिकरूपमा होटल तथा लज सुरु गर्नुभएको हो । यहाँ घोडचरी, प्याराग्लाइडिङलगायतका थुप्रै सेवा उपलब्ध भए पनि आवश्यक पर्ने सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएको थियो ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि…
–पूर्णप्रसाद मिश्र/काठमाडौँ, २४ जेठ (रासस)ः चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।

उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।

तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ । उत्पादन नभएपछि तलब नपाउने र कार्यालयमा आएका कर्मचारीले पनि काम नपाउने समस्या भएको छ ।

काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् । हाजिर गरेर फर्कन्छन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेको छ । औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहेको छ ।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न राजा प्रताप मल्लका पालामा स्थापना भएको समितिमा तीन महिनादेखि पूरै काम ठप्प छ ।

समितिको बिक्रीकक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजीत सकिएको बताउनुहुन्छ । बिक्रीकक्षमा दैनिक २५ जना मानिस शिलाजीत लिन आउँथे । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको पनि सात महिना पूरा भएको उहाँले सुनाउनुभयो । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।

“औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर हल्लिएर समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समयमा पाइएको छैन”, ठाकुरले भन्नुभयो ।

समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।

विसं २०७७ चैत ३१ गतेदेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत डा सबरी साह भने उत्पादन रोकिएको एक महिनामात्र भएको दाबी गर्नुहुन्छ । त्यसअघि थोरै भए पनि औषधि उत्पादन भएको उहाँले सुनाउनुभयो । विसं २०७८ भदौमा औषधि बनाउने कच्चा पदार्थ ल्याउन बोलपत्र आह्वान गरेपछि अर्का व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्दा प्रक्रिया रोकिएर अहिले उत्पादन बन्द हुने अवस्थामा पुगेको भनाइ निमित्त कार्यकारी निर्देशक डा साहको छ ।

गत वर्ष कोरोना महामारी फैलिएपछि बजारमा च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ । अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ । सरकारको नियन्त्रणमा रहेको समिति धरासायी बन्दा पनि सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।

समितिमा विसं २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजीतको बोलपत्र आह्वान भएको थियो । त्यसपछि बोलपत्र हुन नसक्दा अहिले अभाव भएको हो । त्यसबेला रु एक करोड बराबरको शिलाजीत ल्याइएको थियो । हालै तीन हजार किलोग्राम शिलाजीत ल्याउन बोलपत्र गरिएको छ ।

उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गर्नुभयो । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । समितिमा अनेकौँ समस्या आउँदा चार महिनामा पनि बैठक बस्न नसकेको कर्मचारीको गुनासो छ ।

समितिका समस्या लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायमा गए पनि समस्या समाधान हुन नसकेको कर्मचारी केशव शर्मा पौडेलले जानकारी दिनुभयो । औषधि उत्पादनको कच्चा पदार्थ ल्याउन साउन महिनामा गरिनुपर्ने बोलपत्र आह्वान अझैसम्म हुनसकेको छैन ।

समितिका उत्पादन अधिकृत विनोद साह फागुनसम्म च्यवनप्रास बनिरहेकामा त्यसपछि कुनै पनि काम नभएको बताउनुहुन्छ । उत्पादनको जिम्मेवारी डा हरिदेवप्रसाद यादवले लिनुभएकाले कुन–कुन वर्ष कति–कति उत्पादन भयो भन्ने विषयमा आफूलाई थाहा नभएको उहाँको भनाइ थियो ।

कार्यालयमा काम नभएपछि धेरै कर्मचारी बिहान आएर हाजिर गरेपछि हिँड्ने गरेका छन् । अनुहार देखाएर गर्नुपर्ने विद्युतीय हाजिर पनि धेरैजसो कर्मचारीको एकपटकको मात्र हुने गरेको प्रशासन शाखाले जनाएको छ । कति कर्मचारीले त विद्युतीय हाजिर नगरी कार्यालयको रजिष्ट्ररमा मात्र हाजिर गर्ने गरेका छन् । त्यस्ता कर्मचारीको रजिष्ट्रारको हाजिरसमेत काट्ने गरिएको छ ।

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 0 Minutes 748 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार