२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

ठुलो दुर्घटनाबाट बच्यो श्री एयरलाइन्सको विमान, यात्रुहरुले ज्यान बचाउनका लागि हाम्फाले

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइयो । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका थिए ।

सो विमानमा सवार ७९ जना यात्रुमध्ये थिए कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला । उडिरहेको विमानमा समस्या देखिएपछि अरुको जस्तै उनको पनि हंसले ठाउँ छोडेको थियो । तर, आत्तिएकै मनस्थितिमा पनि उनले मोबाइलबाट भिडिओ खिच्न भ्याए। बास्तोलाका अनुसार विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको उनले जानकारी दिए । विमानभित्रको आफ्नो अनुभव उनले यसरी सुनाए :

आज ९:१५ को फ्लाइट थियो । लगभग ९:४० मा प्लेन उडेको थियो। केहीबेर विमान सामान्य रूपमा उडिरहेको थियो, तर अपेक्षित उचाई लिइरहेको थिएन। १० मिनेटजति उडिसकेपछि अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमान भित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो । मैले एयर होस्टेसलाई कपास मागेँ र किन आवाज आएको हो भनेर सोधेँ ।

यसअघि विमान चढ्दा कहिल पनि यस्तो साउन्ड आएको अनुभव थिएन । एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहीँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् । तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवानको नाम लिन थाले । विमान दुर्घ’टनामा पर्ने निश्चितजस्तै लाग्यो ।

अब बाँचिदैन भन्ने भयो । त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिँचेहोला जस्तो लाग्छ। धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पिडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००-२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके ।

त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले । एयरहोस्टेसहरुले ‘छिटो छिटो भाग्नुस्, आगलागी हुन सक्छ’ भनिरहेका थिए । यात्रुहरु ढोकाबाट हा’म्फाले । हा’म्फाल्ने क्रममा तीन चार जना घा’इते हुनुभएको छ । एम्बुलेन्स र दमकलहरु आउन थाले । सबैको ज्यान जोगियो । नेपालप्रेसबाट साभार

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 1723 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार