
काठमाडौँ—भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएन ।
मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ। योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ।अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य घटेर आएले आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको हो ।
अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १६.५६ रुपैयाँ मूल्य घटाएको थियो। तर निगमले घाटा धेरै भएको भन्दै पुरानै मूल्य कायम गरेको थियो । यस पटक पनि मूल्य घटाउने अवस्था नरहेको निगम स्रोतले बतायो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।