२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बला`त्कार, रक्तस्रावले मृ`त्यु

चितवन । घाउचोट र रक्त`स्रावका कारण मान्छे नजिक पर्न पनि गाह्रो हुने गरेर शरीर गन्हाएकी एक युवतीको उपचारका क्र`ममा नि`धन भएको छ । युवतीको निधन अघि नै उनीमाथि सामूहिक बला`त्कार भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

चितवन प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । आफन्तका अनुसार युवतीले कल्पना गर्न पनि नसकिने क्रूरता झेलेकी थिइन् । चितवन सदरमुकाम भरतपुर देखि ३२ किलोमिटर पूर्व लागेपछि महेन्द्र राजमार्गको पिप्ले चोक आउँछ । त्यहाँबाट दक्षिणतर्फको ग्रामीण सडक चितवन निकुञ्ज आडको मध्यवर्ती वनमा पुगेर टुंगिन्छ ।

राजमार्गदेखि झन्डै २ किलोमिटर परको जंगल आडमा रहेको नयाँबस्तीस्थित भाउजूको घर जान काठमाडौंबाट चैत १० मा हिँडेकी थिइन् एक युवती ।बाटोमै रात परेपछि बाटो मेसो नपाएपछि भण्डारा बजारको चोकमा झरेकी युवतीलाई मकवानपुरको हेटौंडा–९ चौधघरे बस्ने वर्ष ४५ का पूर्ण घलानले भाउजूको घरमा भोलिपल्ट पुर्‍याइदिने भन्दै आफूसँगै लिएर गए ।

तर घलान २ महिना १० दिनपछि जेठ २० मा मात्रै युवतीलाई लिएर उनकी भाउजूको घरमा गए । घलान अहिले चितवन प्रहरीको नियन्त्रणमा छन् । काठमाडौंमा घर ढलानको काममा मजदुरी गरेर गुजारा गर्दै आएकी २७ वर्षीया ती युवती गत फागुनमा पनि भाउजूको घरमा आएकी थिइन् । फागुनमा आउँदा र जेठ २० मा आउँदा उनमा आकाश–जमिनको फरक थियो । जीउडालले हैन बोलीले मात्रै चिनेको भाउजूले बताइन् ।

‘अटोमा आएकी थिइन् । झर्न पनि घस्रँदै झरिन् । त्यो दिन हाम्रोमा कोही आउनेवाला थिएन । यो हालतमा त झन् कोही आउला भनेर सोचेको पनि थिइनँ । अटोले कसलाई लिएर आयो भन्ने सोच्दै थिएँ, भाउजू भनेर बोलाएपछि पो मैले नन्द भनेर चिनें,’ भाउजूले भनिन् । फागुनमा आएर ५–६ दिन बसेर फर्कंदा नन्दको अवस्था अर्कै थियो । मोटीमोटी, फूर्तिली नन्दले मकै भाँच्न र गोठालोसमेत गएर सघाएकी थिइन् ।

साइकल चलाएर दिउँसो बाटोमा तीन–चारपटक ओहोरदोहोर गर्दा भाउजूका छिमेकी महिलाले ‘गर्मीमा धेरै साइकल नचलाउ है’ भनेर सम्झाउँथे । ‘मैले अलि दिन यतै बस्नु नानी भनेको थिएँ । सिजनको बेला छ, घर ढलानको काम यही बेला आउँछ । यता यसै के बस्ने भनेर गएकी थिइन् । यो हालतमा देख्दा होस हवासै उड्यो,’ भाउजूले भनिन् । नन्दले बिहे गरे पनि दुलाहा साथमा थिएनन् । काठमाडौंमा दिदीहरूसँगै डेरामा बस्ने गर्थिन् ।

‘बीचमा एकपटक अर्को नन्दको फोन त आएको थियो । कान्छी त्यता आएको छ र भाउजू भनेर । तर मैले नाई भने । हिँड्दा १५ सय रुपैयाँ लिएर निस्केकी रहिछन्,’ भाउजूले भनिन् । अटोमा घलान पनि सँगै आएका थिए । सुरुमा घलानले आफूहरूले बिहे गरेको, बिरामी परेर उपचार गराउँदा २९–३० हजार रुपैयाँ खर्च भएको बताए । तर केरकार गर्दै जाँदा बिहे नगरेको पत्ता लाग्यो । बढी सोधपुछ हुन थालेपछि घलान आफ्नो बाटो लागे ।

घलान नभएपछि युवतीले बल्ल कुरा खोलिन् । ‘अलमलिएर भण्डारा बजारमा झरेपछि ऊसँग भेट भएको रहेछ । कुरा हुँदै गर्दा आज राति भयो, भोलि पुर्‍याइदिन्छु भनेर आफूसँग लिएर गएछ । तर पछि फुत्किनै दिएनछ । माछापोखरीको आडमा एउटा छाप्रो रहेछ । त्यहीं लगेर राखेछ । ऊ र अरू तीन जना रातमा आउने, बलात्कार गर्ने गरेको नन्दले सुनाउँदा त हामीलाई भाउन्न भएर आयो,’ भाउजूले भनिन् ।

युवतीको स्वास्थ्य अवस्था नाजुक थियो । शरीर सुकेर हाडछाला मात्रै थियो । पिठोको खोले पनि निल्न नसकेर आपत् हुन्थ्यो । कपाल गुजुल्टिर लट्टा परेको थियो । शरीर गन्हाएर नजिक पर्न गाह्रो थियो । झोलामा कपडाहरू त थिए तर रगतैरगत भएर ती पनि डुङडुङ्ती गन्हाएका थिए । मान्छे कोठामा बस्दा घरै गन्हाउने हुन्थ्यो । ‘बिरामीको स्याहार गर्ने कि त्यसलाई खोज्ने भयो,’ भाउजूले भनिन् ।

जेठ २४ मा घरदेखि तीन–चार किलोमिटर पर रक्सी खानका लागि घलानले ‘श्रीमती बिरामी रहेकाले उपचारका लागि खर्च मागेपछि’ गाउँलेले समाएर प्रहरीको जिम्मा लगाएको युवतीकी भाउजूको भनाइ छ । रक्तस्राव बढेपछि युवतीलाई पनि त्यही दिन भरतपुर अस्पतालमा भर्ना गरियो । उपचारका क्रममा जेठ ३० गते उनको निधन भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

‘अत्यधिक रक्तस्राव, मिर्गौला र आन्द्रामा पुरानो रोग पनि रहेछ । संक्रमण फैलिएका कारण मृत्यु भएको देखिन्छ,’ सूचना अधिकारी पौडेलले भने । ती युवतीलाई घलानले भण्डारा आदर्श टोलको माछापोखरीको आडको छाप्रोमा राखेको चितवन प्रहरीले पत्रकारलाई जानकारी दिएको हो । भण्डारा बजारदेखि नजिकै राप्ती नगरपालिका–६ को वडा कार्यालय आडमा एउटा माछापोखरी छ । पोखरी अगाडि विद्यालय छ । वडाध्यक्ष जल्लु महतोले त्यहाँ त्यस्तो घटना भएको प्रहरीले भनेपछि नै जानकारी पाएको बताए । विद्यालयका प्रधानाध्यापक कुमार लामा सो घरमा घटना भएको आफूले अहिलेसम्म थाहा नपाएको बताए ।

भण्डारा बजारदेखि दुई किलोमिटर पर चौकीडाँडा घर भएकी कालीमाया परियार भैंसी चराउन सधैं त्यहाँ आउँछिन् । ‘एक दिन म त्यो छाप्रो आडमा जाँदा एउटी महिला देखें । ६ दिनदेखि केही खाएको छैन भन्थिन् । बूढा छ भन्थिन् । मैले उनीसँग लोग्नेमान्छे त देखिनँ । यहाँ फोहोर उठाउन आउनेले भने देखेका रहेछन्,’ कालीमायाले भनिन् । उनको शरीरबाट साह्रै नमीठो गन्ध आउने गरेको उनले बताइन् ।

‘पछि कता लगे थाहा भएन । त्यो बहिनी गएपछि पनि त्यहाँ गन्हाइरहन्थ्यो । पानी आएर बाछिटाले पखालेपछि अचेल बल्ल गन्ध आउन कम भएको छ,’ कालीमायाले भनिन् । रातमा अरू केटाहरू पनि आएर जबर्जस्ती गर्ने, बाहिर अरूलाई केही भने मारेर खोलामा फाल्दिन्छु भनेपछि नन्दले कसैलाई केही भन्दै नभनेको भाउजूले बताइन् । यस्तै व्यहोराको उजुरी चितवन प्रहरीमा पनि परेको छ । ‘हामी उजुरीलाई आधार मानेर अनुसन्धानमा अगाडि बढेका छौं । धेरै कुराहरू खुल्न बाँकी नै छ । त्यो मान्छेले बीचमा एकपटक महिलालाई अस्पताल ल्याएर उपचार पनि गरेको रहेछ । मेरी श्रीमती हो भनेर उपचार गरेको रहेछ । खास कुरा के हो अनुसन्धान पूरा भएपछि खुल्छ,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले भने । उजुरीमा अन्य तीन जना संलग्न भएको भने पनि प्रहरीले अरू कसैलाई समाएको छैन ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार