नयाँ दिल्ली। गर्मी मौसममा घाममा पार्किङमा राखेको स्कुटी वा मोटरसाइकल चढ्दा तपाइँलाई कस्तो अनुभूति हुन्छ ? निश्चय नै असहज हुन्छ । बस्नुअघि उपलब्ध भए कागज वा कपडा राख्नुहुन्छ। अझै बस्नै नसक्ने तातो भए त पानी छर्कनु हुन्छ होला। तर, तपाईले यस्तो तातोलाई कुनै नयाँ उपयोगमा प्रयोग गर्नु भएको छ त ?
अहिले गर्मी मौसम छ । तापमान बढेसँगै भारतमा नयाँ नयाँ जुक्ति लगाउन थालिएको छ। स्कुटीको सिट तातेपछि भारतीय उद्यमी हर्ष गोयन्काले डोसा (दक्षिण भारतको लोकप्रिय खानेकुरा) पकाउन प्रयोग गरेका छन्। डोसा तयार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। करिब ३० हजार पटक हेरिएको भिडियोमा एक व्यक्तिले तमिलमा ‘माभु’ भनेर चिनिने डोसा दिउँसोको समयमा स्कूटरमा गोलाकार आकारमा फैलाएकाे देख्न सकिन्छ।
भिडियोको क्याप्सनमा भनिएको छ, ‘गर्मीमा बाहिर ४० डिग्री तापक्रममा पेसेवरहरूले गरेको भेस्पा डोसा ।’ भिडियोमा अलिअलि खैरोे आधा पाकेको जस्तो डोसा देखाइएको छ।
आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले क्याप्सनको साथ सेयर गरेको भिडियोमा भनिएको छ, ‘हाम्रो नवीन भावना हेर्नुहोस। यहाँ कोही व्यक्ति बाहिरको गर्मीको उपयोग गरी डोसा बनाउँदै छ।’
भिडियो पोस्टमा धेरैले टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले ‘नवीकरणीय ऊर्जाको प्रयोग’ भनेका छन् भने अर्कोले “वाह ! इन्धन र कार्बन फुटप्रिन्टमा बचत। सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न र मूल्य घटाउन मद्दत गर्नुहोस्।’
भारतका अधिकांश भागमा तापक्रम बढेको छ। दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ। पूर्वी भारतमा १५ जुनसम्म मनसुन सुरु भइसक्ने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।