२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

नेपालमा ‘नैरोबी फ्लाई’ रोग फैलिदै ! यसबाट बच्न र रोकथामका लागि के गर्नु पर्छ ?

भारतसँग सीमा जोडिएका झापा लगायत तराईका जिल्लामा केही दिन यता छालासम्बन्धी रोगका बिरामीको संख्या बढ्न थालेको छ । झापास्थित दमक अस्पतालमा दुई दिन यता दैनिक ३०/३५ जना छालासम्बन्धी समस्या लिएर पुग्ने गरेका बताईएको छ ।

कतिपयले ‘नैरोबी फ्लाई’ रोग भनेर चर्चा गरिरहे पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे अध्ययन भइरहेको जनाएको छ । बिर्तामोडकी सम्झना न्यौपानेको घाँटी र हातमा घाउ देखिएको छ ।

उनले कुनै पनि किराले टोकेको थाहा पाइनन् । राति उनलाई चिलाउने, पोल्ने भयो । बिहान उठ्दा घाउ भएको उनले थाहा पाइन् । शरीरका विभिन्न भागमा घाउ देखिएको भन्दै कयौंले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।

उता, नेपालसँग सीमाना जोडिएका भारतीय क्षेत्रमा ‘नैरोबी फ्लाई’ले सताएको छ । सिक्किमको मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा १०० जनाभन्दा धेरै विद्यार्थीमा ‘नैरोबी’ नामक किराका कारण छालामा समस्या देखिएको बताइएको छ ।

छालामा घाउ देखिएर अस्पताल पुग्नेहरूको जाँच गर्दा बर्खामा देखिने छाला सम्बन्धी समस्या भएको भन्दै जिल्लाबाट रिपोर्टिङ आएको डा. दाहालले बताए । उनले भने, ‘नैरोबी फ्लाई कै कारण वा अन्य कुनै किराको टोकाइले छाला चिलाउने, पोल्ने, घाउ आउने समस्या आएका भन्नेबारे थाहा पाउन अध्ययन गर्नुपर्छ । तत्काल यही हो भनेर भन्ने अवस्था छैन ।’

नैरोबी फ्लाईले टोक्छ ?

वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्णले नैरोबी फ्लाई अर्थात् किराको टोकाइले छाला चिलाउने, पोल्ने, रातो हुने र घाउ नहुने बताउँछन् । नैरोबी फ्लाई नामक किरा शरीरमा बस्ने बित्तिकै केही पनि नहुने उनको भनाइ छ ।

‘यो एक विषालु एसिड भएको किरा हो,’ उनी भन्छन्, ‘नैरोबी फ्लाईले आफू बसेको ठाउँमा एसिड पनि छाड्दैन तर, घर्षण हुँदा वा देख्ने बित्तिकै समात्न खोज्दा घर्षण भइ विषालु एसिड छाड्छ, जसले गर्दा छालाको माथिल्लो भागमा रातो हुन्छ । यस्तै, कसैलाई चिलाउने, पोल्ने, बिमिरा देखिने गर्छ ।’

कसै कसैमा फोका देखिने, रातो हुने, चिलाउने भएमा सामान्य प्रकृतिको देखिएमा एन्टी एलर्जी औषधि, लोसनहरु लगाउन उनको सुझाव छ । यसबाट जोगिनका लागि झुल टाँगेर सुत्न, शरीरलाई पुरै ढाक्ने कपडा लगाउन, किराहरु शरीरमा बसिहालेमा हातले नसमातेर रुमालले समातेर फल्न उनले सुझाव दिए ।

यस्तै, किराले एसिड छाडेको भागलाई साबुन पानीले राम्रोसँग सफा गर्न उनको आग्रह छ । धेरै पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन पनि उनले सल्लाह दिए ।

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार