२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

अब काठमाडौंमा १ करोडको जग्गा धितो राख्दा ३० लाख मात्रै ऋण पाइने

काठमाडौं, साउन ७ । काठमाडौं उपत्यकामा १ करोड रुपैयाँ बजार मूल्य भएको जग्गा धितो राख्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत प्रयोजन नखुल्ने ऋण दिंदा मार्केट भ्यालुको ३० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था गरेको छ ।

यस अघि यस्तो खालको ऋण लिंदा उपत्यकामा ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था थियो । अब बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितो राखेर विविध शीर्षकमा कर्जा लिंदा उपत्यकामा भए बजार मूल्यको ३० प्रतिशत र उपत्यका बाहिर भए बजार मूल्यको ४० प्रतिशत मात्रै ऋण पाइने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालु (चल्तीको बजार मूल्य) बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसको अर्थ काठमाडौं उपत्यकामा कसैले १ करोड रुपैयाँको घरजग्गा किनेको छ भने उसले अर्को विविध प्रयोजनको लागि ऋण लिनु पर्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाउने छ ।पहिलोपटक घर बनाउनको लागि लिइने ऋणमा भने यस्तो व्यवस्था लागू हुने छैन । पहिलोपटक घर बनाउन भने बैंकहरूले ६० देखि ७० प्रतिशतसम्म कर्जा दिंदै आएका छन् ।

पहिलो पटक घर बनाउन १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था छ । तर घरजग्गा धितो राखेर फेरि घरजग्गा नै किन्ने वा प्रयोजन नै नखुलाएर लिने मोर्गेज लोनमा भने राष्ट्र बैंकले कडाइ गरेको एक बैंकरले बताए ।

घरजग्गा धितो राखेर पाउने ऋणको सीमा घटाउनुका साथै प्रयोजन नखुलेको कर्जाको ब्याजदर उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको भन्दा बढी राख्नुपर्ने व्यवस्था गरेपछि घरजग्गा क्षेत्र थप प्रभावित हुने व्यवसायीको गुनासो छ । घरजग्गा कारोबारमा मन्दी आइरहेको बेला राष्ट्र बैंकले थप कडाइ गरेपछि घरजग्गाको कारोबार थप घट्ने व्यवसायीहरुले बताएका छन् ।

घरजग्गाको खरीदविक्री ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा गरेको लगानी फिर्ता हुन सकेको छैन । अहिले सबै जसो बैंक तथा वित्तीय संस्थाले घरजग्गामा गएको ऋणको सावाँ ब्याज उठाउन नसकेपछि धमाधम लिलामीको सूचना निकाली रहेका छन् ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार