
बजाजको पल्सर २२०एफ नेपाली बजारमा निकै नै रुचाइएको बाइक हो । हाल यो बाइक नन–एबीएस र एबीएस गरी दुई भर्सनमा उपलब्ध छ । दुई भर्सनको मूल्य क्रमशः ३ लाख ३० हजार र ३ लाख ६५ हजार रुपैयाँ छ ।
नेपाली बजारमा करिब ११ वर्ष पहिले २०६७ साल मंसिरमा यो बाइकको मूल्य २ लाख ३९ हजार ९ सय अर्थात करिब २ लाख ४० हजार रुपैयाँ थियो । त्यतिबेला यसमा एबीएस भर्सन थिएन । यो भर्सन पछि मात्र उपलब्ध भएको हो ।
यो बाइकको मूल्य २०६८ असोजमा २ लाख ४४ हजार, २०७१ असोजमा २ लाख ६५ हजार र २०७२ भाद्रमा २ लाख ६८ हजार रुपैयाँ थियो भने २०७३ असोजमा २ लाख ८० हजार रुपैयाँ थियो ।
२०७६ साउनमा यो बाइकको मूल्य ३ लाख १५ हजार रुपैयाँ थियो भने हाल यसको मूल्य नन–एबीएस र एबीएस गरी दुई भर्सनमा क्रमशः ३ लाख ३० हजार र ३ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।
बजाजका बाइक हाल नेपालमै एसेम्बल हुने गरेका छन् । अन्य बाइक जस्तै पल्सर २२०एफ युवा पुस्ताका बीच अत्यन्तै लोकप्रिय छ ।
२० सीसी इन्जिनयुक्त यो बाइकको इन्जिनले २०।९३ पीएस पावर र १८।५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० को कुल तौल १५५ किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो बाइक अहिले पनि ‘भ्यालु फर मनी’को रुपमा परिचित रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।