२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

नेपाली विद्यार्थीले बनाए १ युनिट बिजुलीमै १०० किमी गुड्ने विद्युतीय कार, विश्व प्रतिस्पर्धामा जाँदै

काठमाडौं,नेपाली विद्यार्थीहरूले कम ऊर्जामा लामो दूरी तय गर्ने विद्युतीय गाडी बनाउन सफल भएका छन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनेगरी थापाथली क्यापम्समा मेकानिकल इन्जिनियरिङ अध्ययनरत १२ जना विद्यार्थीको समूहले यस्तो गाडी बनाएको हो ।

आउँदो सेप्टेम्बरमा हुने ‘शेल इको म्याराथन’ विश्व स्तरीय प्रतियोगिताका लागि यो टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ । ऊर्जा संकट, बढ्दो वातावरणीय प्रदुषण आदिलाई न्यूनिकरण गर्ने रोयल डच शेलले वर्षेनी विश्व स्तरीय शेल इको म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको उपाधि जुन समूहले कम ऊर्जामा लामो दूरी तय गर्ने गाडी निर्माण गर्न सक्छ, उसैलाई विजेता घोषित गरिनेछ । “टिम शिरेटो”ले निर्माण गरेको यो गाडीको नाम मैचा राखिएको छ ।

यो गाडीमा लिथियम आयन ब्याट्री र २५० वाट ब्रसलेस डीसी मोटरसहित साइकलका तीन ओटा पाङ्ग्रा राखिएका छन् । यसको आकार सानो बनाउनुको मुख्य उद्देश्य सकेसम्म यसको तौल कम गराउनु हो ।जसले गर्दा अझ बढी दूरी तय गर्न सकिने विद्यार्थीहरूको अपेक्षा छ । यसलाई सुतेर चलाउन मिल्ने गरि डिजाइन गरिएको छ । प्रतियोगितालाई मध्यनजर गर्दै यसलाई प्रोटोटाइप मोडलमा डिजाइन गरिएको पाण्डेले बताए ।

प्रतियोगितामा एउटा प्रोटोटाइप मोडेल र अर्को सहरी अवधारणा (अर्बान कन्सेप्ट) समावेश गरिएको हुन्छ । ‘अर्बान कन्सेप्ट’ विशेषगरी हामीले बाटोमा देखिरहेका चार पाङ्ग्रे गाडीलाई भनिन्छ ।“अहिले हामी प्रोटोटाइप मोडेलमा बढी केन्द्रित भए पनि २०२३ मा हुने प्रतियोगितामा अर्बान ‍मोडेलको गाडी डिजाइनमा केन्द्रित हुने योजनामा छौँ,” पाण्डेले भने ।

हाल परीक्षणकै चरणमा यो गाडीले १०० किमी दूरी तय गर्न ब्याट्रीको एक युनिट विद्युत खपत गर्छ । यो दूरीलाई बढाएर ब्याट्रीको एक युनिट विद्युत खपतमा १५० किमी दूरी तय गराउने लक्ष्य सहित टिम शिरेटो सक्रिय छ ।यो कार्य सम्पन्न गर्न उनीहरूलाई करिब एक वर्ष लागेको थियो । तीन लाख रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको यो विद्युतीय गाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास समूहका सदस्यको छ ।

यसमा समावेश गरिएको मोटर कन्ट्रोलर र अन्य केही पाटपुर्जा टिमका विद्यार्थी आफैँले विकास गरेका हुन् भने ब्याट्री र मोटर बाहिरबाट आयात गरिएको हो । भविष्यमा मोटर कन्ट्रोलर धेरै मात्रामा उत्पादन गर्न सके देश बाहिर निर्यात गरेर आम्दानी गर्न सकिने टिमको विश्वास छ ।

साथै विद्युतीय गाडी निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । जसले गर्दा भविष्यमा नेपालमै निर्माण भएका विद्युतीय गाडी अन्य देशमा निर्यात गर्न सकिने सम्भावना रहन्छ ।

हाल यसमा खर्च हुने रकम क्याम्पस र गोल्छा अर्गनाइजेसनले सहयोग स्वरूप उपलब्ध गराएको छ । तत्काल बजेट अभावका कारण प्रोटोटाइपमा केन्द्रित रहे पनि २५ लाख रुपैयाँ सङ्कलन भएको अवस्थामा अर्बान मोडेलको गाडी निर्माण गर्ने टिम शिरेटोको लक्ष्य छ ।

२०७९ असार १२, आईतवार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार