अबदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था : ट्रायलमा आफ्नै सवारी, कुन चरणको अंकभार कति ?

समाचार

सरकारले तोकेको समयभन्दा ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ ।
\
यसको ठाउँमा १ अबदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने । विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ । परीक्षण लाइसेन्सको रूपमा अहिले प्रयोग भइरहेको स्मार्ट लाइसेन्स दिइनेछ । तर, त्यसमा चिप्स भने हुनेछैन ।

त्यस्तै, अबदेखि चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरेको छ । यसअघि शतप्रतिशत (१०० अंक) पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने भएको छ ।

तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ ।अहिले प्रयोगात्मक परीक्षामा पास हुन सय अंकमा सय नै ल्याउनुपर्ने व्यवस्था छ । ‘नयाँ व्यवस्था जेठदेखि थालनी गर्ने तयारी गरिएको भए पनि निषेधाज्ञाका कारण नयाँ आर्थिक वर्ष २०७८/७९ (साउन)देखि सुरु गर्न लागिएको हो’ महानिर्देशक घिमिरेले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्देशिका २० चैत २०७७ मा स्वीकृत गरिसकेको छ । निर्देशिकाको नाम सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ रहेको छ । कार्यविधि निर्देशिकाअनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र कार्यान्वयन हुनेछ ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्ष समेटिएको सामान्य व्यावहारिक ज्ञानको विषय समेटिनेछ । १ सय पूर्णांक र २० वटा प्रश्न हुनेछन् । सबै प्रश्नको अंकभार ५ हुनेछ । अहिले पनि ३० मिनेटमा लिखित परीक्षाको समयावधि थियो भने २० वटा प्रश्न सोधिएका हुन्छन् । त्यसमध्ये १० वटाको सही उत्तर दिनुपर्ने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछ ।

ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ । ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ । स्पिड ब्रेकर वा उबडखाबड को अंकभार १५ रहेको छ । स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *