शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा संसदबाट बिश्वासको मत नपाए के हुन्छ? फेरि को बन्ला प्रधानमन्त्री?

राजनीतिक खबर

सर्वोच्च अदालतको आदेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधनमन्त्री बन्ने निश्चित भएको छ । तर उनले संसदबाट बिश्वासको मत लिनु पर्ने हुन्छ । यदि उनले बिश्वासको मत पाउन सकेनन् भने के होला? भन्ने चासो धेरैलाई हुन सक्छ ।

सर्बोच्चको आदेश बमोजिम नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ र सम्भवतः देउवालाई भण्डारीले मंगलबार दिउसो भित्र नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट प्रधानमन्त्री बन्न लागेका हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेपछि सोही धाराको उपधारा ६ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले साउनमा नै विश्वासको मत लिनेछन् ।

देउवालाई राष्ट्रपतिसमक्ष पुगेको समर्थन प्रस्तावमा १४९ सांसदको हस्ताक्षर थियो । जसमध्ये नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको १३ र नेकपा एमालेको माधव नेपाल खेमाको २६ सांसद थिए । पछिल्लोपटक एमालेका ३ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए ।

प्रतिनिधि सभामा कुल सांसद संख्या २६७ रहेकोमा बहुमत सिद्ध गर्न १३४ सांसदको समर्थन चाहिन्छ । देउवासँग १४६ सांसदको साथ छ । उनलाई बहुमत प्राप्तबाट असफल बनाउन अहिलेको हिसाबले १३ सांसद संख्या घट्नुपर्छ ।

नेकपा एमालेको माधव नेपाल खेमाबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायत सांसद संख्या घट्ने सम्भावना छ । उनीहरु सबै प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । प्रत्यक्षतर्फ थप ४ या ५ सांसद तान्न सकेमा ओली देउवालाई बहुमत पुग्न दिनबाट रोक्न सफल हुन सक्छन् । देउवालाई कुनै हालतमा बहुमत पुग्न नदिएर देशलाई चुनावमा लाने ओलीको रणनीति निश्चित रुपमा देखिनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *