काठमाडौंमा कोरोना : यस्तो छ स्थिति २२% भन्दा बढी संक्रमित

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा अहिले ९६ जना कोभिड–१९ संक्रमित भर्ना भएर उपचाररत छन् । अस्पताल भर्ना भएकामध्ये ३० जना सघन उपचारकक्षमा उपचाररत छन् । तीमध्ये १५ जना भेन्टिलेटरमा छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि २० वटा आईसीयू बेड कोभिड संक्रमितको उपचारकै लागि प्रयोग भएका छन् । वीर अस्पतालमा कोभिड संक्रमणका कारण आईसीयूमा उपचार गराउनेमा पहिलो डोज खोप लगाएका संक्रमित पनि छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २७ गतेसम्मको तथ्यांकानुसार काठमाडौं उपत्यकाका १२ वटा प्रमुख अस्पतालहरूमा ५४९ जना कोभिड संक्रमित जनरल तथा एचडीयूमा, १३० जना आईसीयूमा र ५२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

अस्पतालहरूको यो तथ्यांकले समग्रमा देशभर कोभिड संक्रमितको संख्या घटेको देखिए पनि काठमाडौं उपत्यकामा भने अझै संक्रमणदर उस्तै रहेको देखाउँछ ।

टेस्ट पोजिटिभिटी दर २२.३ प्रतिशत
असार २२ देखि २८ गते सोमबारसम्म नेपालमा १३ हजार ४६३ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जसमध्ये काठमाडौं जिल्लामा मात्रै दुई हजार ३५४ जना संक्रमित थपिएका छन् । अर्थात्, एक सातामा थपिएका संक्रमितको १७.४८ प्रतिशत व्यक्ति काठमाडौंका छन् ।

त्यस्तै, काठमाडौंमा यो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । अर्थात्, दैनिक सरदरमा दुई जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।संक्रमण पत्ता लाग्ने (टेस्ट पोजेटिभिटी)दर ५ प्रतिशतभन्दा कम भए संक्रमण नियन्त्रणमा आएको भन्न सकिने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । तर, नेपालमा अहिले टेस्ट पोजिटिभिटी दर २२.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले पनि प्रत्येक पाँचजनामा कोभिड परीक्षण गर्दा एकजनाको नतिजा पोजिटिभ आउने गरेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । यस अर्थमा कोभिड संक्रमण फैलिन सक्ने हिसालबे नेपाल अझै जोखिममा रहेको डा. पौडेलको भनाइ छ ।

उपत्यकामा अपेक्षाकृत रूपमा घटेन संक्रमण
कोभिड संक्रमणको ‘चेन ब्रेक’का लागि निषेधाज्ञा जारी गरिए पनि अपेक्षाअनुरूप संक्रमण कम नभएको चिकित्सकको भनाइ छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले अस्पतालमा आउने संक्रमितको संख्या हेर्दा अपेक्षाकृत रूपमा संक्रमण नघटेको बताउँछन् ।

“दोस्रो लहरको उच्च संक्रमणपछि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या धेरै घट्ला भन्ने लागेको थियो । तर, अपेक्षाकृत रूपमा संक्रमण घटेको देखिएन । हामीले पहिलो र दोस्रो लहरको भोगाइले धेरै कुरा सिक्नुपर्थ्यो, तर अहिले पनि पर्याप्त सावधानी अपनाइएन । त्यसैले संक्रमितको संख्या घट्नुपर्नेजति घट्न सकेन,” डा. काफ्ले भन्छन् ।

पछिल्लो दुई साता अस्पताल भर्ना हुनेमा उपत्यकाबाहिरबाट रिफर भएका कोभिड संक्रमितको संख्या धेरै भएको वीर अस्पतालका कोभिड युनिट इन्चार्ज डा. अच्युत कार्की बताउँछन् । अस्पताल भर्ना हुनेमा सबै उमेर समूहका संक्रमित रहेको र पहिलो डोज खोप लगाएका केही संक्रमित आईसीयूमासमेत उपचाररत रहेको उनले बताए ।

“पछिल्लो दुई साता अस्पतालमा आउने संक्रमितको संख्या हेर्दा अवस्था स्थिर देखिन्छ । तर, निषेधाज्ञा खाुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा लापरबाही गर्ने हो भने फेरि संक्रमण नबढ्ला भन्न सकिँदैन,” डा. कार्कीले भने ।

मृत्यु हुनेमा ज्येष्ठ नागरिक बढी
कोभिड संक्रमणको समग्र अवस्थालाई हेर्ने हो भने नेपालमा पहिलो र दोस्रो दुवै लहरमा संक्रमणबाट सबैभन्दा धेरै ६० वर्षमाथिका नागरिकको मृत्यु भएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार नेपालमा कोभिड संक्रमणका कारण मृत्यु भएकामध्ये पाँच हजार ३२ जना ६० वर्षमाथिका नागरिक र एक हजार ८४५ जना ५० देखि ५९ वर्षसम्मका नागरिक छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार उपचारको क्रममा मृत्यु हुनेमा अधिकांश ज्येष्ठ उमेरका नागरिक थिए । लामो समय उपचार गर्नुपर्ने र आईसीयूमा राखेर उपचार गर्नुपर्नेमा पनि ज्येष्ठ नागरिक बढी रहेको डा. बास्तोलाको भनाइ छ । पछिल्लो समय मृत्यु भइरहेकामा नयाँ भर्ना भएका र पुराना दुवैखाले संक्रमित रहेको उनी बताउँछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *