‘विवाहित ज्वाला संग्रौलाले अविवाहितको प्रमाणपत्र पेश’ गरेपछि…

समाचार

अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ ।

संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु प्रमाणीकरण गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण नमिलेको प्रहरीले बताएको छ ।

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो । तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएपछि कीर्ते अभियोग लागेको हो ।

प्रहरीको अनुसार ज्वालाले हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस) बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन् । प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा उनले कीर्ते गरेको पाइएको बतायो ।

यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ । उक्त पत्र आएपछि प्रहरीले संग्रौलाविरुद्ध कीर्तेमा समेत मुद्दा दर्ता गर्ने तयारी गरेको छ। संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिका छन् । ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन् ।

जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो । प्रहरीलाई यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियो ।संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरीको भनाइ छ । उनका पति हिमाल उपाध्यायले नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको प्रहरीको भनाइ छ । यसले उनका पति पनि कीर्तेमा तानिनसक्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *