खानै नहुने औषधि एन्टिबायोटिक बिरामीहरूले आवश्यक नपर्दै खानाले बिरामी झन् बढी खतरामा

स्वास्थ्य खबर

काठमाडौंका ४२ वर्षीय विमल बराल गत वैशाखको मध्यतिर कोरोनाभाइरस पोजिटिभ भए। खोकी बढ्दै गएपछि उनी उपचारका लागि एउटा निजी अस्पताल पुगे। त्यहाँ उनको सीटी स्क्यानसहित विभिन्न परीक्षण भयो। सीटी स्क्यानले निमोनिया भएको देखायो। त्यहाँ चिकित्सकले उनलाई अस्पताल भर्ना हुनुपर्ने बताए र विभिन्न खालका एन्टिबायोटिक औषधि लेखिदिए। घर गएर आफ्ना नजिकका नातेदार डाक्टरलाई अस्पतालको कुरा उनले बुझाए। ती नातेदारले अझ अर्को एन्टिबायोटिक थपिदिए। कोभिड सङ्क्रमणले आहत उनी थरिथरिका औषधि खानुपर्ने सुझावबाट त्रस्त बन्न पुगे। उनले हिम्मत हारेनन्, यो औषधि खाऊँ कि नखाऊँ भनेर तेस्रो चिकित्सकको सुझाव लिन सफल भए।

तेस्रो चिकित्सकको सुझाव थियो, “यो तपाईँको भाइरल निमोनिया भएकाले ब्याक्टेरिया मार्ने एन्टिबायोटिक नखानुस्। अक्सिजन तह जाँचिरहनुस्। ज्वरो आए सिटामोल खानुस्। अक्सिजन तह ९० भन्दा कम भए अस्पताल गइहाल्नोस्।” बराल सिटामोल र घरमै विभिन्न किसिमका झोलिलो पदार्थ खाएर बसे। उनको कोभिड निको हुन समय लाग्यो तर अस्पताल जानु परेन, अनेक थरी एन्टिबायोटिक खानु पनि परेन।

नेपालमा बिरामीलाई आवश्यकै नपर्ने औषधि पनि दिने गरिएको र त्यो अभ्यास कोरोनाभाइरसको महामारीका बेला बढेको अनुभव चिकित्सक हरूको छ। कोरोनाभाइरसका बिरामीको उपचारमा खटिएका डाक्टर अनुप सुवेदी बिरामीहरू सिकिस्त भएर अस्पताल पुग्दा दुई तीन चरण एन्टिबायोटिक खाइसकेर आउने गरेको बताउँछन्।

उनी भन्छन्, “कहिलेकाहीँ भाइरसले आ क्र मण गरेर निमोनिया भएको बिरामीलाई पछि ब्याक्टेरियाले फेरि निमोनिया गराउन सक्छ। साँच्चै एन्टिबायोटिक चाहिने बेला चाहिँ बिरामीलाई एकदमै कडा साइड इफेक्ट गर्ने एन्टिबायोटिक दिनुपर्ने हुन्छ किनभने पहिला ठिक हुने एन्टिबायोटिकले यो अवस्थामा छुँदैन। यो दोस्रो लहरमा आइसीयूमा थुप्रै मानिसको मृत्यु भएको एउटा कारण त्यो पनि हो।” हालसालै द ल्यान्सेट जर्नलले भारतमा महामारीका बेला अनावश्यक औषधि प्रेस्क्राइब गरेकोबारे ‘लो लेभल मेडिकल केयर’ शिर्षकमा एउटा लेख प्रकाशित गरेको थियो।

जसमा कोभिडका सामान्यदेखि मध्यम खालका लक्षण भएका बिरामीहरूलाई आवश्यक नै नपरेका औषधि सुझाउनेदेखि सीटी स्क्यानसम्मको परीक्षण गर्न लगाउँदा त्यसले बिरामीलाई आर्थिक भार पर्ने र स्वास्थ्यमा दीर्घकालीन असर पर्ने उल्लेख थियो। लेखमा उल्लेखित भारतका अधिकांशजसो समस्या नेपालमा पनि उपचारका क्रममा देखिने गरेको चिकित्सकहरू बताउँछन्।

सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भन्छन्, “खानै नहुने औषधिहरू जस्तै एन्टिबायोटिक/स्टेरोइडहरू बिरामीहरूले आवश्यक नपर्दै खानुहुन्छ। अक्सिजनको मात्रा कम नहुँदै स्टेरोइडहरूको प्रयोग गर्दा त्यसले उल्टै हानी पुर्‍याइरहेको छ।” त्यसबाहेक सामान्य लक्षण भएका कोभिडका बिरामीलाई अस्पतालले एक्सरेदेखि सीटी स्क्यानसम्म गर्न लगाउने गरेको पाइने पनि उनले बताए। सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात पनि नेपालमा विभिन्न भिटामिनहरू, जिङ्कजस्ता औषधि मात्रै नभई डेक्सामेथासोन जस्ता स्वास्थ्यमा असर गर्ने औषधि पनि अनावश्यक रूपमा प्रयोग भइरहेको बताउँछन्।

डाक्टर बस्न्यातले भने, “लक्षण अनुसार बिरामीलाई त्यो औषधि आवश्यक नै नपर्न सक्छ। तर चिकित्सकले पनि सुझाउने र बिरामीले पनि मनलागी आफैँ प्रयोग गर्ने गरेको पाइन्छ। त्यसले शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ।” भारतमा कोरोनाभाइरसका बिरामीले स्टेरोइडको धेरै प्रयोग गर्दा पनि कालो ढुसी अर्थात् म्युकोर्माइकोसिस सङ्क्रमण बढेको बताइएको छ।

नेपालमा पनि उक्त समस्या कोरोनाभाइरसका केही बिरामीमा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। कस्ता औषधि सिफारिस गर्न हुने वा नहुने भनेर नेपाल मेडिकल काउन्सिलले निर्देशिका निकालेको छ। त्यसको केही हदसम्म पालना भए पनि धेरैले अहिले पनि त्यो अपनाएको नपाइएको चिकित्सकहरू बताउँछन्।

नेपालमा चिकित्सकहरूले सुझाउने औषधिबारे सङ्क्रमणको दोस्रो लहर उच्च बिन्दु पुगेका बेला अनुगमन थालिए पनि त्यसले निष्कर्ष निकाल्न बाँकी रहेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले बताए। डाक्टर कोइरालाले भने, “त्यसबारे मन्त्रालय र काउन्सिलहरूले टोली बनाएर अध्ययन थालेको छ। हामीले मेडिकल काउन्सिलबाट प्रेस्क्रिप्सन (अडिट) जाँच्न थालेका थियौँ त्यो अहिले फार्मेसी काउन्सिलले हेरिरहेको भए पनि धेरै अगाडि बढेको छैन।”

सामान्यदेखि मध्यम लक्षण भएका बिरामीलाई अनावश्यक औषधी वा परीक्षण गर्न लगाउने गरेको देखिए पनि यो विषयको ‘ग्रे एरिया’ पनि हेर्नुपर्ने डाक्टर कोइराला बताउँछन्। “यो औषधि प्रयोग गर्नै हुँदैन भनेको औषधि डाक्टरले प्रेस्क्राइब गर्‍यो भने त्यो गलत भयो। तर केही अवस्थामा किन दिइस् भनेर कडा अडान लिन नमिल्ने अवस्था आउँछ किनभने डाक्टरले बिरामीका विभिन्न कुरा आकलन गरेर दिएको हो भन्ने ठाउँ हुन्छ। तर त्यो आकलन सँधै उचित र सही उपचार विधि नहुन सक्छ।”

चिकित्सकहरूले कोरोनाभाइरसका बिरामीलाई औषधि र परीक्षण सही सुझाएका छन् कि छैनन् भन्ने हेर्न कोरोनाभाइरसका बिरामीलाई सरकारले दिने उपचार खर्चका विवरणले सघाउ पुग्ने डाक्टर कोइराला बताउँछन्। उनले भने, “स्वास्थ्य मन्त्रालयले कोभिडका बिरामीको उपचारको पैसा परिपूर्ति गर्दा अस्पतालहरूबाट सबै विवरण आउँछ त्यसको आधारमा कति जायज कति नाजायज प्रेस्क्रिप्शन भएका छन् हेरेर हामीले पत्ता लगाउन सक्छौँ।”

चिकित्सकले मात्रै नभई औषधि पसलले पनि बिरामीलाई जथाभाबी एन्टिबायोटिक लगायतका औषधिहरू दिने गरेको देखिन्छ। सामान्य कुनै औषधि पसलमा गएर रुघाखोकी वा ज्वरो आएको बताउँदै पसलले एन्टिबायोटिक नै सिफारिस गर्ने गरेको अनुभव कैयौँको छ। कतिपय अस्पतालको व्यवस्थापनले बिरामीलाई औषधि लेखिदिन चिकित्सकहरूलाई दबाब दिने गरेको डाक्टर अनुप सुवेदीले बताए।

“डाक्टरलाई प्राइभेट हस्पिटलहरूको व्यवस्थापनबाट गाह्रो छ। डाक्टरहरूले आम्दानी कम गराइदिए भन्ने हुन्छ,” सुवेदी भन्छन्, “बिरामी पनि डाक्टरले औषधि लेखिदिनुभएन भन्ने गुनासो गर्छन्। त्यसले पनि डाक्टरलाई दबाब हुन्छ।” त्यसबाहेक बिरामी आफैँले पनि सामाजिक सञ्जालमा आएका जानकारीका आधारमा हानी पुर्‍याउने खालका औषधिहरू आफैँ प्रयोग गर्ने गरेको उनले बताए। “जनताको १० औँ अर्ब रुपैयाँ अनुत्पादक कुरामा खर्च भइरहेको छ। यसबाट केही कम्पनीलाई नाफा हुन्छ। पैसा कति खर्च भएको छ भनेर त्यसको लेखाजोखा नै छैन,” डाक्टर सुवेदी भन्छन्। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *