काठमाडौँ आउन र छोड्न चाहनेहरुका लागि लागु भयो यस्तो नयाँ नियम, जारी भयो सूचना

लकडाउन खबर

काठमाडौं । खुकुलो हुने गरि थपिएको निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा प्रवेश/बाहिरिन चाहनेहरुका नयाँ नियम लागु भएको छ । काठमाडौं उपत्यकामा प्रवेश गर्न चाहनेले अनुमति लिएर आउनुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि उपत्यकामा आउँदा आफ्नो जिल्लाको अनुमति लिएर मात्र आउन आग्रह गरेको छ।

काठमाडौं प्रशासनले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो। साथै, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने प्रशासनले जनाएको छ।

यस्तै सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।

काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरि खुलेको हो ।अन्तर्राष्ट्रिय उडानका लागि सरकारले तय गरेकाे कोटा यस्ताे छ ।

काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई गरी हप्तामा चार उडान हुनेछ । काठमाडौँ–इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २ उडान हुनेछ । काठमाडौँ–दुबई रुटमा नेपाली वायुसेवाको २ उडान र संयुक्त अरब इमिरेट्सबाट सम्बन्धित मुलुकको वायुसेवाको २ गरी हप्ताको चार उडान हुनेछ ।

त्यस्तै काठमाडौँ–दमाम रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ । काठमाडौँ–कुवेत सिटी रुटमा कुवेतको वायुसेवाको हप्तामा २ उडान हुनेछ । काठमाडौँ–मस्कट रुटमा ओमानको वायुसेवाको हप्तामा १ उडान हुनेछ ।

यस्तै काठमाडौँ–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ र मलेसियाको वायुसेवाको २ गरी हप्तामा ४ उडान हुनेछ । काठमाडौँ–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान हुनेछ ।त्यस्तै काठमाडौँ–टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ उडान हुनेछ । काठमाडौँ–छेन्दु र काठमाडौँ–ग्वानझाओ रुटमा नेपाली वायुसेवाको १–१ र चीनको वायु सेवाको १–१ गरी हप्तामा २–२ उडान हुनेछ ।

जोर–बिजोर प्रणाली भन्दै अत्यावश्यक ढुवानीमा अवरोध

नेपाल डेरी फार्मस् एसोसिएसनका अध्यक्ष प्रदीपराज पन्तले निषेधाज्ञा सुरु भएयता दूध निर्बाध रूपमा ढुवानी गरिरहेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै मगलबारदेखि जोर–बिजोर प्रणालीअनुसार सवारीसाधन चलाउन दिने निर्णय गरे ।

पसलहरू पनि बारअनुसार सञ्चालन गर्न दिने आदेश भयो । निषेधाज्ञा खुकुलो भएको दाबी गरिए पनि मगलबार पन्तको दूध बोकेको गाडीलाई बानेश्वरमा सुरक्षाकर्मीले एक घण्टा रोके । पन्तको मात्र होइन, अत्यावश्यक मानिएका खाद्य, दूध, तरकारीलगायत ढुवानीमा प्रयोग भएका अन्य सवारीसाधनलाई पनि जोर–बिजोर प्रणाली लागू हुने भन्दै ढुवानीमा अवरोध गरिएको हो ।

‘दुग्ध प्रदान ढुवानी गर्दा सोमबारसम्म सहज थियो । अवरोध थिएन । मंगलबार भक्तपुरबाट दूध काठमाडौं ल्याउँदा बानेश्वरमा एक घण्टा रोक्नुपर्यो,’ पन्तले भने, ‘मगलबारदेखि सुविधा बढाएको दाबी गरेको सरकारले झन् अवरोध गर्यो ।’ खाद्यान्नका होलसेल व्यवसायी सञ्जय फुँयालले पनि ट्राफिक प्रहरीबाट धेरै दुःख पाएको गुनासो गरे ।

‘हिजो–अस्ति बिहान ११ बजेसम्म निर्बाध ढुवानी भइरहेकै थियो । तर आज (मंगलबार) जोर–बिजोरको नाममा ६ वटा गाडीमध्ये २ गाडीबाट मात्रै ढुवानी गर्न पाएँ,’ उनले भने, ‘सरकारले सहज बनाउने नाममा झन् अप्ठ्यारो बनायो । प्रहरीबाट चोक–चोकमा अवरोध भयो । यही नियमले एउटा मात्रै सवारी हुनेले एक दिन बिराएर मात्रै खाद्य ढुवानी गर्न पाउने देखियो ।’

फुँयालका अनुसार खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने धेरै सवारी रोकिएको छ । अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध भइरहे आपूर्ति प्रणालीमा समस्या हुने उनले बताए । ‘स्मार्ट लकडाउन भनेको सजिलोका लागि होला ठोनेका थियौं,’ उनले भने, ‘सामान नै दिन नसक्ने अवस्था आयो । जोर–बिजोर नहुँदा ११ बजेसम्म ढुवानी गरेकै थियौं, अहिले त्यो पनि चलाउन पाइएन ।’

खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठको दुःखेसो पनि उस्तै छ । जोर–बिजोरकै कारण एक दिन बिराएर खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था आएको उनले बताए । सरकारी नियमले अत्यावश्यक वस्तुको ढुवानीभन्दा निजी सवारीसाधनलाई फाइदा भएको उनले दाबी गरे । ‘खाद्यान्न ढुवानी अत्यावश्यक भनेर सरकारले नै घोषणा गरेको अवस्थामा जोर–बिजोरको नाममा धेरै ठाउँमा सवारी रोकियो । ट्राफिकले ११ नबज्दै समात्न थाले, एक दिन बिराएर चलाउनुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने, ‘यसले अरूलाई फाइदा भयो, अत्यावश्यक खाद्यन्न ढुवानी गर्नेलाई घाटा भयो ।’

खाद्यान्न ढुवानीको विषयमा बुधबार प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने तयारी भइरहेको उनले बताए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि दूध बोकेका र पुर्‍याएर फर्केका गाडी ७/८ बजे नै प्रहरीले रोकेको बताए । ‘दुग्ध पदार्थ भनेको अत्यावश्यक हो । अन्य बेला ११ बजेसम्म ढुवानीमा छुट दिइएको थियो,’ उनले भने, ‘मंगलबार बिहानको ७/८ बजे नै प्रहरीबाट अवरोध भयो । जोर–बिजोरको नाममा ढुवानी गर्न दिइएन ।’

दूध बोकेका सवारीसााधनमा अवरोध भएपछि दाहालले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो गरेको सुनाए । सीडीओले सहजीकरण गर्ने बताए पनि ट्राफिकले रोकेको दाहालको गुनासो छ । निषेधाज्ञामा अत्यावश्यक वस्तुलाई अवरोध भएको यो पहिलो घटना भने होइन । सरकारले अवरोध नगर्ने दाबी गरे पनि प्रहरी प्रशासनबाट अवरोध भइरहेको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय जोर–बिजोरको नाममा अत्यावश्यकीय वस्तुकै ढुवानी गर्ने साधनमा पनि अवरोध भएको हो । ‘व्यवस्थापनको कमजोरीले सर्जिकल, फलफूल, तरकारीलगायत बोक्ने सबै सवारी समातिएका छन् । प्रहरीले चोक–चोकमा रोकेर राखेको छ,’ उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘खाद्यान्न पसल ११ बजेसम्म खुल्छ । अन्य पनि बारअनुसार खुल्ने भए । तर अत्यावश्यक सामान बोक्ने गाडीलाई चल्न दिइएन ।’ आपूर्ति प्रणालीमा समस्या हुन नदिन सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने श्रेष्ठले सुझाए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले पनि अत्यावश्यक सवारीमा भएको अवरोधबारे धेरै गुनासो आएको स्विकारे । ‘जोर–बिजोर लगाएर दिनभरि सामान बोकेका सवारी रोकेको गुनासो आएको छ । यस्तो निर्णय मुख्यतः अन्य गाडीका लागि हो, अत्यावश्यक वस्तुका लागि होइन भन्ने आशय हो,’ उनले भने । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बुधबारदेखि केही सहज हुने बताए । ‘खाद्य, तरकारी, दूधलगायत अत्यावश्यक वस्तुको हकमा नरोक्न ट्राफिक प्रहरीलाई भनिएको छ । बुधबारदेखि सहज हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *