साउन १ देखि सबै गाडी र मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राखिने

समाचार

काठमाडौं – आगामी साउन १ देखि सबै नयाँ सवारी साधन र नवीकरण गर्नुपर्ने सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राखिने भएको छ। यातायात व्यवस्था विभागले यसको लागि सम्पूर्ण तयारी पुरा गरेको विभागका महा निर्दे शक नमराज घिमिरेले जानकारी दिएका छन् । अन्य सेवाग्राहीले समेत ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उनले बताए । डेकाटुर टाइगर कम्पनीले यस प्रकारको इम्बोस्ड नम्बर प्लेट छाप्ने जिम्मेवारी पाएको छ ।

विभागमा फारम भरेपछि दर्ता र नवीकण गर्न पाउने र प्रदेश कार्यालयमा गएर नम्बर फिट गर्न पाउने छन्। यी सबै कार्यका लागि विभागले समन्वय गरिदिने छ। ५ भदौ २०७४ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट उद्घाटन गरेका थिए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली भाषामा नभएकोलगायत कारण देखाउँदै अधिवक्ता भरत बस्नेत र राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गराएका थिए ।

यस्तो छ इम्बोस्ड नम्बर प्लेटको शुल्क : सेवा ग्राहीलाई इम्बोस्ड नम्बर प्लेट राख्नलाई हालको भन्दा केही महँगो भने पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चार पाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने विभागले जनाएको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ? इम्बोस्ड नम्बर प्लेटमा रहेका अक्षरहरु अलि उठेका देखिन्छन् । यस्तो नम्बर प्लेट हाल प्रयोगमा रहेका नम्बर प्लेटभन्दा बढी टिकाउ छ । प्लेटमा रहेको चिपमा सो सवारी साधन सम्बन्धी सबै जानकारी उपलब्ध हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *