उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधन चल्न दिने बिषयमा पनि यस्तो निर्णय हुँदै

लकडाउन खबर

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ । । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।

साथै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ । नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर, यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ । ‘संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे हामी केन्द्रित छौं’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ । सीसीएमसी स्रोत भन्छ, ‘कुल सवारी साधनको संख्यालाई विश्लेषण गरेर एक तिहाइ वा कति वैज्ञानिक हुन्छ, सञ्चालन गर्न दिने विषयमा पनि छलफल भइरहेको छ ।’ सवारीसाधनको अन्तिम नम्बरको आधारमा बार तोकेर निजी सवारी साधन चलाउन दिने कि भन्ने विषयमा छलफल भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *