वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको खुलासा

समाचार

काठमाडौ । नुवाकोटमा वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको खुलासा भएको छ ।नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा वृद्ध भत्ता चोरी भएको खुलेको हो ।

घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेपछि चोरीको जानकारी सार्वजनिक भएको हो ।बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम नभएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको भनाइ छ ।

गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको अध्यक्ष तामाङले बताउनुभयो । सीसीटीभीबाट पनि चोर पत्ता लाग्न नसकेपछि प्रहरीमा उजुरी गरेर अनुसन्धान सुरु गरिएको छ । तर अझै परिणाम नदेखिएको तामाङले बताउनुभयो ।

घटनामा प्रशासकीय अधिकृत नरेश पुडासैनीको गल्ती र असावधानी पाइएपछि उनलाई निलम्बन गरेर मन्त्रालयले अनुसन्धान थालेको छ ।पुडासैनी चार वर्षभन्दा बढी समयदेखि पञ्चकन्यामा कार्यरत रहेको र उनले कहिल्यै सरुवा नमागेको मन्त्रालय स्रोतको दाबी छ । घटनाका विषयमा उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि मन्त्रालयले थप छानबिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *