आजबाट स्टेशनरी, हार्डवेयर पसल, होटल, रेष्टुराँ खोल्न पाइने तर यो नियमसहित

लकडाउन खबर

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ ।

संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

नयाँ शैक्षिक सत्र सुरु भएकाले स्टेशनरी पनि खोल्न दिने निर्णय गरिएको छ । पुस्तक पसलहरु बिहान ११ बजेसम्म खुल्नेछन् ।अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ ।

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । हाल ७५ जिल्लामा निषेधाज्ञा कायम छ ।काठमाडौं उपत्यकाकासहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *