उपप्रधानमन्त्री राजेन्द्र महतोको चौतर्फी आलोचना, काठमाडाैंमा पुत्ला दहन

समाचार

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । ‘नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन शुरु गर्छु भन्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फी बिरोध र आलोचना भएको हो ।

सोहि अभिव्यक्तिलाई लिएर नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

‘बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन शुरु गर्छु भन्ने अभिव्यक्ति संविधानको धारा ३ विपरीत छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए । महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ ।

शनिबार एमाले नेता माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य समेत निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ ।

यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ ।

काठमाडौं राजेन्द्र महतोको पुत्ला दहन

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल निकट विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै खनाल नेपाल पक्षीय अनेरास्ववियुले महतोको पुत्ला दहन गरेको हो ।

महतोले शुक्रबार रातोपाटीसँगको अन्तर्वाताका क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिए उनीहरुले पुत्ला जलाउनुको क्रममा महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए । अनेरास्ववियुकी महासचिव आरती लामाका अनुसार त्यसक्रममा प्रहरी र विद्यार्थी समूहबीच केही समय धकेला-धकेल समेत भएको थियो।

प्रहरीले खनाल नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदीप पराजुली महासचिव आरती लामा, केन्द्रीय सदस्य तपेन्द्रजंग शाही, अशोक थापा, मेघनाथ चपागाई,अमर पुन, हर्क बम महेश श्रेष्ठ, लक्ष्मी क्षेत्री, आकाशलगायत ११ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा लगेको थियो । अहिले आफूहरु रिहा भइसकेको लामाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *