उपप्रधानमन्त्री बनेको २४ घण्टा नबित्दै महतोलाई देश निकाला गर्नुपर्ने माग, बिज्ञप्ति सहित

राजनीतिक खबर

काठमाडौं । उपप्रधानमन्त्री बनेको २४ घण्टा नबित्दै जसपाका नेता राजेन्द्र महतोलाई ठुलो झट्का लागेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको छ । शनिबार नयाँ पार्टी, नेपालले कामचलाउ सरकारमा सहभागी भइ उच्च ओहदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

“महतोलाई २४ घन्टाभित्र उपप्रधान एवम् सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानबिन गरी आवश्यक कारबाही गरी देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्दा लगाइ देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्म सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता युवराज सफलद्वारी हस्ताक्षर विज्ञप्तिमा जनाएको छ ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पार्टीको ठहर छ । यस्तै, असंवैधानिकरुपमा संसद् विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

एमाले नेता गोकर्ण विष्ट र योगेश भट्टराईले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए।

उनले दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको बताएका छन्।

महतोले पदभार ग्रहण गर्दा सरकारमा सहभागी हुनुको कारण र पार्टीका एजेन्डा सुनाएका थिए। त्यसक्रममा उनले वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिको सवालहरू अगाडि बढाउने बताउँदै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ भनेका थिए।

‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ विष्टले लेखेका छन्।यस्तै, भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुल राज्यको बहसको संकेत राम्रो नरहेको बताएका छन्। यसले देशलाई फेरि द्वन्द्वतिर फर्काउने भट्टराईले बताएका छन्।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ संविधानको धारा ३ को परिभाषा उल्लेख गर्दै भट्टराईद्ये भनेका छन्, ‘अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’

यस्तै, एमाले नेता वामदेव गौतमले पनि महतोको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नागरिकका निम्ति स्वीकार्य हुन नसक्ने उनले बताएका छन्। प्रधानमन्त्री केपी ओलीले महतोको अभिव्यक्ति सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको गौतमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *