कतारका नेपालीलाई आयो खुशीको खबर : कतार र ग्वान्जाउमा हवाई उडान खुला, साताको एक उडान हुने

Uncategorized

कतारका नेपालीलाई आयो खुशीको खबर : कतार र ग्वान्जाउमा हवाई उडान खुला, साताको एक उडान हुने

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो ।

उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुदै आएको छ ।

यता, सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चितकालका लागि बन्द छ । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन ।

नेपालीलाई विदेश जान रोक, तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो ।

साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिएको छ । जसले गर्दा विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन् । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो ।

१५ वैशाखदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो । जब कि साउदी अरेबिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ ।

सातामा नेपाल वायुसेवा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्न अनुमति पाएका हुन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै झन्डै एक हजार पाँच सय भारतीय नेपालमा रोकिएको अनुमान छ ।

‘नयाँ आउने भारतीयलाई जान दिने भन्ने होइन, यहाँ रोकिएर बसेका भारतीयलाई साउदी जान दिने गरी उडान खुला गरिएको हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । मंगलबारदेखि नै उडान सुरु हुनेसमेत पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *