टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’

कोरोना अपडेट(कोभिड -१९)

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ ।

अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ। अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टरले बताए।

यसै क्रममा टेकु अस्पतालमा पनि दिनप्रतिदिन कोरोनाका संक्रमितहरु बढ्दै गएका छन् भने उपचार गर्न आएका बिरामीको आँखै अगाडी मृत्यु भएको देख्दा डाक्टर र नर्सलाइ पनि दुखि बनाउने गर्छ । बिरामी भएर घरमै बस्ने अनि सिरियस भै सकेपछि अस्पताल आउने गर्नाले पनि अन्तिम अवस्थामा बिरामीलाई बचाउन नसकिएको डाक्टर बताउने गर्छन् ।

यसै क्रममा सिला पत्रमा अहिले एउटा समाचार भाइरल भैरहेको छ जुन समाचारमा लेखिएको छ, ‘ए ! दाइ अक्सिजन ल्याउनु न । मान्छे जाने भइसक्यो । छिटो छिटो… एक लिटरमा चलाइ रहेको मान्छेको सिलिन्डर ल्याउ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा डा. अनुप बाँस्तोला आत्तिँदै अक्सिजन मागिरहेका थिए ।प्राङ्गणको चिसो भुइँमा लम्पसार परेका कोभिडका एक बिरामी सास फेर्न गाह्रो भएर छटपटीरहेका थिए । उनको शरीरमा अक्सिजनको लेभल घटेर ३२ मा आइपुगेको थियो ।

उनको ढाडमाथि थियो, डा. अनुपको हात । अनि घोप्टो पारेर ढाडमा ढ्यापढ्याप पार्दै उनलाई सास फेर्न सहज बनाउँदै थिए । अस्पतालकै एक सहयोगीले हतार-हतार प्राङ्गणमै अर्को बिरामीलाई दिइरहेको अक्सिजन झिकेर ल्याए र उनलाई चलाए । केहीबेरपछि उनको अक्सिजनको लेभल ९० मा पुग्यो ।

छेउमै रहेकी एक महिलाले लामो सास फेरिन् । अनि डाँको छोडेर रूँदै फोनमा भन्दै थिइन्, ‘ज्वाइँलाई गाह्रो भयो । एक्लै छु ।’ डा. अनुप ढाडस दिन्छन्, ‘नआत्तिनु अब ठीक हुन्छ । अक्सिजन सकिएको रहेछ । रातोमा झर्नेबित्तिकै खबर गर्नु । तर उहाँलाई भेन्टिलेटर चाहिन्छ । यहाँ राखेर हुँदैन ।’ अस्पतालमा न भेन्टिलेटर खाली छ, न बेड नै । उनलाई अक्सिजनको सहारामा प्राङ्गणमै राखेर डा. अनुप बेड र अक्सिजन सिलिण्डरको चाँजोपाँजो मिलाउन थाले ।

ती बिरामी रहेछन्, गोरखा शहीद लखन गाउँपालिका ताक्लुङ्गका ४२ वर्षीय शिक्षक बाबुराम लामिछाने । सास फेर्न गाह्रो भएपछि श्रीमती सविताले एम्बुलेन्समा हालेर बुधबार काठमाडौं ल्याएकी रहिछन् । उनले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइन् । त्यो रात त्यहीँ राखिन् तर भोलिपल्ट केएमसीले बेड र अक्सिजन छैन भनेपछि श्रीमानलाई टेकु पुर्‍याइन् ।

‘बेलुका केएमसीमा धेरै मानिस मरे । बेड अक्सिजन पनि छैन भनेपछि यहाँ ल्याएको । यहाँ पनि बेड छैन’, आलाप गर्दै उनी भन्छिन्, ‘कहाँबाट मिलाउने ? चिनेको पनि कोही छैन ।’‘बाबु ! मलाई भित्र नलगेसम्म नजानु ल’, भुइँमा घोप्टो परिरहेका बाबुरामले हामीसँग सहयोगको याचना गरे । एक घण्टाअघि बोली नै बन्द भएको बाबुरामको मन्द बोली सुनिएको थियो ।

‘ल करिडोरमा मिलाए है एउटा बेड’, डा. अनुपको आवाजले थोरै भए पनि सविताले राहत महसुस गरिन् । भेन्टिलेटर त बाबुरामले पाएनन् तर ४-५ घण्टापछि एउटा बेड पाए त्यो पनि प्यासेजमा । ‘मलाई यो अक्सिजन हेर्न पनि आउँदैन । आज तपाईं यही बस्न मिल्दैन ?’ सविताले हामीलाई अनुरोध गरिन् । हामी अबेरसम्म यही हुन्छौँ भनेपछि उनले मुन्टो हल्लाइन् ।

साँझको ७ बजेको थियो । टेकुको पार्किङस्थलमा रातारात १० वडा बेड तयार गरिँदै थियो । बेड तयार भएको १० मिनेट पनि नपुग्दै १० वटा बेड भरिए । बिरामीले हारालुछ गर्न थाले । प्राङ्गणमा रहेका बिरामी पार्किङको बेडमा सिफ्ट भए । एक घण्टाको बीचमा प्राङ्गणमा उत्तिकै बिरामी आइपुगे । कोही एम्बुलेन्स त कोही ट्याक्सीमा । फेरि प्राङ्गण बिरामीले भरियो ।

‘अस्पतालको क्षमता ६० बेडको हो । १२० बेडभन्दा बढी भइसक्यो’, प्राङ्गणमै रहेका अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन्, ‘जति बेड थप गरे पनि पुग्दैन । अब डाक्टर-नर्स हामी नै बिरामी पर्‍यौं भने पनि बेड छैन । भित्र भएको बिरामी निकाल्ने कुरा भएन ।’

सूचना अधिकारी गौतम अस्पतालको व्यथा सुनाउँछन् । प्राङ्गण, भर्‍याङ, प्यासेज कुनै ठाउँ खाली छैन । कुरूवा बाटोमै सुतेका छन् । व्यवस्थापन गर्न अस्पताललाई सास्ती देखिन्छ । टेकुको आँगनमा आइपुग्यो अक्सिजनको ट्यांकर । अक्सिजन आइपुग्दा बिरामीसमेत खुसी देखिन्थे । १५ हजार लिटर अक्सिजन आएकोमा टेकुले ७ हजार मात्र पायो । बाँकी अक्सिजन ट्रमा सेन्टरका लागि थियो । केही दिनका लागि टेकुले अक्सिजनमा राहत पायो ।

बिरामीका आफन्त डा. अनुपलाई घेर्न प्राङ्गणमै आइपुग्छन् । भन्छन्, ‘भित्र गाह्रो भइसक्यो प्लिज ! मेरो मान्छेलाई हेर्दिनु न ।’ कति बिरामीका त आफन्त पनि त्यहाँ छैनन् । नाम, थर ठेगाना पनि थाहा छैन । बेहाेस छन् । बोल्न सक्दैनन् ।

बेड नम्बर ५ : भुइँमा लडिरेहका छन्, करिब ३०–४० वर्षका एक युवा । लहरै अरु पनि बिरामी भुइँमै छन् । बेड नभएपछि खाली कोठाको भुइँमै राखिएको रहेछ उनीहरूलाई । ओहो ! अक्सिजनको लेभल धेरै तल झरेछ ।’ए दाइ ….!’ डा. अनुप ती मानिसलाई बोलाउँछन् तर उनी बोल्न सक्दैनन् ।

ढुकढुक चलिरहेको मुटुको चाल र स्वाँस्वाँको आवाज परै सुनिन्छ । हतारिँदै डा. अनुपले ढाडमा ढकढक पारेर मालिस गर्छन् । ड्युटी डाक्टर र नर्सले पनि सकेजति प्रयास गर्छन् तर उनलाई कम भएन । उनका आफन्त पनि काेही थिएनन् । बोल्न सक्ने हुँदा सँगै रहेका अर्का बिरामीलाई आफ्नो नाम भनेका रहेछन् ।

नाम राजेन्द्र मल्लिक, काम रिक्सा चलाउने । ‘गाउँका दुई जना आएका थिए । बस्दैनौं भनेर गए । घर चाहिँ कहाँ हो थाहा छैन’, अर्का बिरामीले उनकाबारेमा यति भने ।
मल्लिकको शरीर थप सिथिल हुँदै गयो । डा. अनुपलाई छट्पटिँदै मल्लिकले अंगालाे हाले ।

‘स्टोरको थोत्रो बेड भए पनि ल्याउनु यहीँ राख्नु पर्‍यो’, डा. अनुपले एक सहयोगीलाई भने । एक दिदीले स्टोरको पुरानो बेड झिकेर ल्याइन् । तर, उनलाई त्यो बेड काम लागेन । आईसीयू र भेन्टिलेटर नै चाहिने भयो । भेन्टिलेटर मिलाउन अनुप आईसीयूमा पुगे ।
उनी आईसीयूमा पुग्दा ४८ वर्षका एक पुरुष सदाका लागि अस्ताइसकेका थिए । ‘अघिसम्म बोल्दै हुनुहुन्थ्यो । अहिले गुमाउनु पर्‍यो’, डा. अनुप निरास हुँदै भन्छन्, ‘बेड नम्बर ५ को बिरामीलाई अब यही बेडमा ल्याउनु पर्‍यो । उसलाई जसरी पनि बचाउनुपर्छ ।’

डाक्टर नर्सको टोली मल्लिकलाई बचाउन लाग्छन् । हतार-हतार उनलाई भेन्टिलेटरमा सारियो । टेकुमा एक जनाको मृत्यु भएपछि मात्र अर्कोले आईसीयू र भेन्टिलेर पाएको देखिन्थ्यो । मल्लिकलाई भेन्टिलेटरमा सारिएको मात्र थियो, इमरजेन्सीबाट खबर आयो, ‘४–५ जना सिरियस भए । भेन्टिलेटर नै चाहिन्छ । नत्र बचाउन गाह्रो छ’, डा. अनुप इमरजेन्सीमा दौडिए ।

इमरजेन्सीमा मात्र होइन, प्यासेज र प्राङ्गणमा पनि बिरामी आईसीयू र भेन्टिलेटरको प्रतीक्षामा छन् । ‘एक जना बिरामीको आफन्तले त आफैँ २० लाख तिरेर भेन्टिलेटर किनेर ल्याउनुभो ’, डा. अनुप भन्छन्, ‘यहाँ सबै प्याक छ के गर्नु । आफ्नाे मान्छे बचाउन यहाँ के गरेका छैनन् ।’‘हुनेले त भेन्टिलेटर किन्न सक्छन्, तर रिक्सा चलाउने मल्लिक दाइ जस्ताले के गर्ने ?’ आफैँले आफैँलाई प्रश्न गरेँ ।

भेन्टिलेटर चाहिने अधिकांश बिरामीलाई हाइफ्लो अक्सिजन चलाइएको थियो । इमरजेन्सीमा ३० वर्ष, ३२ वर्ष, ४६ वर्षका बिरामीलाई देखाउँदै डा. अनुप भन्छन्, ‘यी सबैलाई भेन्टिलेटर चाहिन्छ । नत्र भने दुई-तीन दिनमा सबै कोल्याप्स हुन्छन् । कसरी बचाउने? ’ फेरि आईसीयूबाट खबर आयो, ‘एक जना आमा रहनु भएन ।’

‘ओ ! सेट’, डा. अनुप फेरि आईसीयूमा दौडिए । आईसीयूकी नर्सलाई भन्छन्, ‘अब इमरजेन्सीमा रहेको ३० वर्षको बिरामीलाई यहाँ सार्नुपर्छ । उसलाई भेन्टिलेटर तत्कालै चाहिने छ ।’ एक महिनाअघि भर्ना भएकी रहिछन् ७४ वर्षीया ती आमा । मृतकका आफन्त डाक्टर नर्सलाई भन्दै थिए, ‘तपाईंहरूलाई धन्यवाद ! अन्तिमसम्म पनि बचाउन प्रयास गर्नुभो ।’ आमा गुमेकोमा जति पीडा थियो त्यति धन्यवाद दिँदै थिए डाक्टर र नर्सलाई उनीहरू ।

टेकु अस्पतालका डाक्टर, नर्स र सहयोगी यताउता दौडधुप गर्छन् । एउटा बिरामी हेर्‍यो अर्को सिरियस हुन्छ । अर्कोलाई हेर्‍यो अर्को ढलिसक्छ । ‘तीन दिन भयो यति धेरै यस्तो भएको । के हुन लागेको हो ? कसरी मान्छेलाई बचाउने होला ? हिजो बेलुका मात्र ७ जना बिते’, अस्पतालका एक सहयोगी भन्दै थिए ।आईसीयूकी एक नर्स चिच्याउँदै प्राङ्गणमा आइपुगिन्, ‘डा.साब सबै बिरामीको अक्सिजन लेभल एकै पटक घट्यो । गाह्रो भएको छ’, डाक्टरको टोली दौड्दै आईसीयूमा पुग्यो । डाक्टर-नर्स नै अक्सिजन सिलिण्डर बोकेर दौडिरहेका थिए । बिरामीका आफन्त भने भेन्टिलेटर खोज्न बजारतिर जाँदै थिए ।

‘हाम्रो हेल्थ सिस्टम खोई ? हे ! भगवान पूरै प्याक छ । अब आएका बिरामीलाई कहाँ राख्ने ?’ डा. अनुप र सूचना अधिकारी गौतम सल्लाह गर्दै थिए ।आईसीयूबाट सन्देश आयो, ‘अघि आईसीयूमा सारेको दाइ रहनु भएन ।’ उनी रहेछन् तिनै डा. अनुपलाई अंगालो हाल्ने रिक्सा चालक मल्लिक दाइ । एक घण्टाको बीचमा तीन जनालाई टेकु अस्पतालले मृत घाेषणा गर्‍याे । रातको १२ बजेको थियो । मल्लिक दाइलाई गुमाएपछि डा. अनुप निरास हुँदै पीपीई सेटबाट बाहिरिए ।दिनेश गौतमले सिला पत्रमा लेखेको यो समाचार हामीले साभार गरेका हौ, प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *