काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउन अर्को आदेश जारी हुँदै

लकडाउन खबर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडा हुने भएको छ। संक्रमण तिब्र बन्दै गईरहेको अवस्थामा समेत निषेधाज्ञा उल्लंघन भएकाले निषेधाज्ञा कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ।

यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यलय, बैंक वित्तीय संस्था तथा अन्य सेवासँग जोडीएका संस्थालाई यस अगाडी लागू गरिएको आवागमन सम्बन्धी व्यवस्थामा परिमार्जन गर्ने भएका छन्।

जसअनुसार सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने र सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने गरी अर्को आदेश जारी हुने भएको छ।

यस विषयमा तीनवटै प्रशासनको संयुक्त छलफल भएको र छिट्टै निर्णय सार्वजनिक गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताए। उनकाअनुसार अब बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भएको छ।

संघीय सरकारले निषेधाज्ञा बैशाख ३१ सम्म लागू गर्ने निर्णय गरेपनि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारिहरुले बैशाख २२ गते सम्मलाई निषेधाज्ञा घोषणा गरेका थिए। वैशाख १६ मा जारी गरिएको एक साता लामो निषेधाज्ञा बुधबार सकिँदैछ ।त्यसको अघिल्लो दिन मंगलबार नै यी थप कडा प्रावधान समेटेर निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म पुर्‍याउने तीनवटै प्रशासनको तयारी छ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै देशभर कोरोना संक्रमण तीव्र बन्दै गएको उल्लेख गर्दै निषेधाज्ञालाई थप कडा बनाइने बताएका छन्। कोभिड १९ को दोस्रो लहरको महामारीबाट बच्न र बचाउन सरकारले आफ्नो दायित्व हरसम्भव पुरा गर्ने तर त्यसका लागि प्रत्येक नागरिकले आफ्नो तहबाट समेत प्रयास गर्नुपर्ने प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताएका छन्।

नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले कुनै पनि कसर बाँकी नराखी सरकारले काम गरिरहेको सन्दर्भमा निषेधाज्ञा उल्लंघन गर्नेमाथी अनुगमन तथा कडा कारबाही समेत गरिने प्रधानमन्त्री ओलीले स्पष्ट संदेश दिएका छन्। यसका लागि निषेधाज्ञा उल्लंघन गर्नेमाथि अनुगमन, कारबाही र नियमन गर्न गृहमन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन समेत दिएका छन्। Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *