हराएको ३७ वर्षपछि अमेरिकाबाट नेपाल ल्याइँदै वासुदेव–कमलाजाको मूर्ति

समाचार

एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति सोमबार नेपाल ल्याइपुर्‍याइँदै छ ।उक्त मूर्ति ३७ वर्षअघि पाटनको पट्को टोलबाट हराएको थियो । नेपालबाट चोरिएको प्रमाणित भएपछि गत नोभेम्बर ३० मै यो मूर्तिलाई म्युजियमले अमेरिकी प्रहरीको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई हस्तान्तरण गरेको थियो ।

एफबीआईले दुई महिनाअघि वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको मूर्ति अमेरिकी सरकारकै ढुवानी खर्चमा ल्याइन लागेको हो ।७० केजीको वासुदेव–कमलाजा मूर्तिमा बायाँतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । अन्वेषक लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल (सन् १९८९)’ पुस्तकमा समेत प्रकाशित यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ ।

कला सम्पदासम्बन्धी यो सोध पुस्तकमा २ सय ७७ वटा नेपाली मूर्ति–सम्पदा चोरिएको विवरण छ । वासुदेव–कमलाजा मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने निर्क्योल कतै गरिएको छैन ।न्युयोर्कको जोन–जे कलेजमा आर्ट–क्राइम विषयका प्राध्यापक इरिन एल थोम्सनले पहिलो पटक डल्लास म्युजियममा राखिएको नेपालको मूर्तिबारे लेख लेखेकी थिइन् ।

आर्थिक संकटकै कारण अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजा मूर्तिलाई लागेजति खर्च बेहोरेर ल्याउने घोषणा ललितपुर महानगरपालिकाले गरेको थियो ।तर मूर्ति नेपाली दूतावासमा बुझाइएपछि अमेरिकी विदेश मन्त्रालय, एफबीआईसहितका पदाधिकारीबीच दूतावासमा भएको विभिन्न चरणको छलफलपछि विदेश मन्त्रालयले आफ्नै खर्चमा मूर्ति फिर्ता पठाउने निधो गरेको हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘युनाइटेड पार्सल सर्भिस’ (यूपीएस) ले मूर्ति ढुवानी गर्दै छ ।अमेरिकी विदेश मन्त्रालयको सहयोग र समन्वयमा यूपीएस कार्गो सेवाले मूर्ति निःशुल्क ढुवानी गरिदिने विषयमा गत बिहीबार नेपाली दूतावासका पदाधिकारीसँग लिखित सहमति भएको छ ।उक्त मूर्ति कार्गो आइतबार न्युयोर्कबाट कतार एयरवेजमार्फत उड्ने र सोमबार अपराह्न काठमाडौं आइपुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *