बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

समाचार

खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन् ।२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो । बजारमा सवारी व्यवस्थापनका लागि सिट्ठी फुक्दै थिइन् ।

नयाँ–नयाँ भएकाले उत्साह पनि थियो ।सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए । अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् ।​

अजितले बोनालाई पहिलोपटक सडकमै देखे । देख्नेबित्तिकै उनलाई बोना मन परेको रहेछ, तर लजालु स्वभावका अजितले बोल्ने हिम्मत भने गरेनन् ।संयोगवश बोनाका बहिनीहरूसँग अजितको चिनजान रहेछ । उनले बहिनीहरूको माध्यमबाट नजिकिने योजना बनाए ।

एकदिन अजितले बोनाकी बहिनीलाई घुम्न जाने अफर गरे । उनले सहमति पनि जनाइन्, त्यसपछि शर्त राखे– दिदीलाई पनि लिएर आउनुपर्छ ।उनको प्लानले काम गर्‍यो, तर दिनभरी घुम्दा बोलचाल भने भएन । ‘बहिनीसँग त चिनजान थियो तर उनीसँग कसरी बोल्ने भन्ने पत्तो थिएन, अलिकति डर लागेको थियो,’ प्रहरी हबल्दार अजितले भने, ‘इलाम घुम्न त गयौं तर दिनभरी बोलचाल नै भएन ।’

त्यतिबेला बोनालाई पनि अजित मन परेको रहेछ, तर बहिनीको प्रेमी होला भन्ने सोचेर कुराकानी गर्ने हिम्मत गरिनछन् । ‘बहिनीले घुम्न जाऊँ भनेर गएँ । बहिनीकै ब्वाइफ्रेन्ड होला जस्तो लागेको थियो त्यसैले बोलिनँ,’ बोनाले भनिन्, ‘तर मनचाँहि परेको थियो ।’

त्यो दिन बोलचाल नभए पनि कार्यालय एउटै थियो । अजितले लुकीलुकी उनलाई हेर्थे, बोना भने अझै पनि बहिनीको प्रेमी होला भन्ने सोचेर खासै नजिकिन चाहँदैन थिइन् । ‘मलाई मन परेको थियो, तर उनले भाउ नै नदिने, बोल्न आँट नै आउँदैनथ्यो,’ अजितले भने, ‘यसो लुकेर मात्रै हेथेँ ।’

अजित यतिसम्म लजाउँथे कि बोनाले खाना खाँदै गरेको बेलामा मेसमा समेत छिर्दैनथे । उनी निस्किएपछि मात्र भित्र छिरेर खाना खान्थे । ‘मन भित्रबाटै माया लागेपछि उनको अगाडि जान अड फिल हुन्थ्यो,’ अजितले भने । एउटै अफिसमा बेलाबेलामा एकै ठाउँमा ड्युटी पर्थ्यो ।

अजितले सिट्ठी फुक्दै हातले सवारीलाई इशारा गर्थे, तर आँखा भने बोनातिरै हुन्थ्यो ।अजितले बोनालाई मन पराउन थालेको संकेत उनका साथीभाइले पनि पाएका थिए । उनीहरूले जिस्क्याउन पनि थालेका थिए, तर बोनालाई भने पत्तो थिएन । रोचक कुरा त के भने त्यतिबेलासम्म पनि बोनाले अजितलाई हुनेवाला बहिनी ज्वाइँको रूपमा हेर्थिन् ।

मान्छे ठीक छ भन्नेचाहिँ उनलाई सधैँ लागिरहन्थ्यो । यत्तिकैमा एकदिन बोनाको मोबाइलमा म्यासेजको घण्टी बज्यो ।खोलेर हेर्दा म्यासेजमा लेखिएको थियो– ‘आइ लभ यु….’ । सहकर्मी भएकाले अजितको नम्बर बोनालाई थाहा थियो । शुरूमा त उनले के भइरहेको छ नै सोच्न सकिनन् ।

कुनै प्रतिक्रिया जनाउनुभन्दा अगाडि बोनाले बहिनीलाई त्यसबारे जानकारी गराइन् । बल्ल थाहा भयो, अजित त बहिनीको प्रेमी होइन रहेछन् ।उनी त्यसपछि फ्ल्यासब्याकमा गइन्, त्यो दिन इलाम घुम्न जाने प्लान अर्कै पो रहेछ । मान्छे ठीक लागेकै थियो, मन परेको पनि हो, त्यसपछि भने बोनाले अजितलाई आफ्नो दिलमा सजाउन थालिन् ।

एउटै भवनको माथिल्लो तल्लामा महिला प्रहरीको ब्यारेक थियो, तल्लो तल्लामा पुरुषहरूको । अजित तल साथीभाइसँग बसिरहँदा बोनाले माथि झ्यालबाट चिहाउन थालिन् । लुकीलुकी हेर्ने पालो अब बोनाको थियो ।सडकमा ड्युटीका बेला आँखा जुध्दा मुस्कुराउन थालिन् ।

अजितले पठाएको आइ लभ यु म्यासेजको जवाफ भने उनले किस्ताकिस्तामा दिइन् । ‘उहाँले आइ लभ यु भनेको ५/६ किस्तामा बल्ल ‘एस’ भनें,’ बोनाले भनिन्, ‘दिनप्रतिदिन माया बढ्न थाल्यो । सरहरूले पनि तिमीहरू विवाह गर भन्नुहुन्थ्यो ।’बोनाले त्यो बेलाको एउटा रोचक घटना सुनाइन् ।

‘गर्मीको महिना थियो । म माथि नुहाएर कपाल सुकाउन तल आउँदै थिएँ, उहाँ पनि नुहाएर टाबेलमा बाहिर निस्किँदै हुनुहुन्थ्यो, मलाई देखेपछि त उहाँ लाजले भुतुक्कै हुनुभयो । लगभग १५ दिन मेरो नजिक पनि पर्नु भएन ।’प्रेममा परेपछि माथिल्लो तल्लामा रहेकी बोना र तल्लो तल्लामा रहेका अजितबीच दिनमै सयौं एसएमएस आदानप्रदान हुन्थ्यो ।

त्यतिबेला अहिलेजस्तो च्याटको जमाना थिएन, एसएमएसमै च्याट हुन्थ्यो ।यसैगरी ३ वर्ष बिते । साथीभाइ र हाकिमहरूले विवाह गर भन्न थाले । २०६६ फागुनमा आयो त्यो शुभ दिन, औपचारिक रूपमै अजित र बोना एकअर्काको भए ।मन परेपनि विवाह अगाडि बोनाले दिदीसँग राय मागिछन्, दिदीले पनि ओके भनेपछि उनीहरूको विवाह विनारोकतोक सबैको सहमतिमै भयो ।

विवाहपछि हनिमुन मनाउन पोखरा पुगे, काठमाडौं पनि आए । प्रहरीको जागिर भएकाले धेरै दिन बिदा भने लिएनन् । ‘चालिस कटेसी रमाउँला …, ड्युटी त गर्नैपर्‍यो,’ अजितले ठट्टा गरे ।उनीहरूले श्रीमान् श्रीमती मिलेर एउटै ट्राफिक कार्यालय पनि चलाएका छन् ।

‘बुढाबुढीले ट्राफिक कार्यालय चलाएको देख्दा धेरै मानिसले प्रशंसा पनि गर्नुहुन्थ्यो । त्यो बेलामा साह्रै खुशी लाग्थ्यो,’ बोनाले लोकान्तरसँग भनिन् । ९ महिनाको बच्चा पिठ्युँमा बोकेर गाडी चेकिङ !विवाहपछि पहिलो सन्तान छोरा जन्मियो । नियमानुसार पाउने सुत्केरी बिदामा बसिन् ।

त्यसपछि ड्युटीमा फर्किनु त थियो नै । ९ महिनाको छोरालाई पिठ्युँमा बोकेर चिट काट्दा मानिसहरूले ‘हेर ट्राफिक्नीको दुःख’ भन्थे तर हौसला भने कसैले नदिएको बोनाले सुनाइन् ।‘त्यो बेला इटहरीमा थिएँ । इन्डियाबाट ट्रकहरू आउने । ९ महिनाको बच्चा पिठ्युँमा बोकेर चेकजाँच गर्थें, ट्राफिक नियम मिच्नेलाई कारवाही गरें,’ ती दिन सम्झिँदै बोनाले भनिन्, ‘हौसला कसैले दिँदैनथे, उल्टै हेर ट्राफिक्नीको दुःख भन्थे ।’

श्रीमान श्रीमती दुवै ड्युटीमा जानुपर्ने भएकाले बच्चा लैजानुको विकल्प थिएन । परिवारको जिम्मा लगाएर घरमा छाड्न पनि दूधे बालक भएकाले सम्भव थिएन । २०७२ सालको भूकम्प आउँदा उनी काठमाडौंमा थिइन् । पेटमा दोस्रो सन्तान थियो । पिसाब लागेर बानेश्वरको एउटा घरको ट्वाइलेटमा छिरिन् । भूकम्पले हल्लायो । उनी ट्वाइलेटमै लडेर बेहोश भइछन् । २ घण्टापछि उद्धार गरेर अस्पताल लगियो ।

झगडा हुँदा २ दिनसम्म बोल्दैनन् अजित-दुवै जना प्रहरीमा भएकाले बेलुका थाकेर घर फर्किएपछि खाना बनाउने विषयमा कहिलेकहीँ बुढाबुढीको ठाकठुक पर्छ । अजित त्यति साह्रो रिसाउँदैनन्, तर बोना अलि छिटो रिसाउँछिन् । त्यसपछि दुवैजना चुप लागेर आ–आफ्नो काम गर्छन्, केही बेरमा रिस शान्त हुन्छ ।

कहिलेकाहीँ भने उनीहरूबीच चर्काचर्की हुन्छ । त्यस्तो बेलामा अजित २ दिनसम्म नबोल्ने गरेको बोना सुनाउँछिन् । अन्त्यमा उनैले फकाउनुपर्छ । ‘बुढाबुढीमा हुने ठाकठुक त हुन्छ नि, नभए कसरी जीवन भयो त, त्यो पनि एउटा रमाइलो हो,’ बोनाले लामो हाँसोसँगै भनिन्, ‘उहाँ त २ दिनसम्म पनि रिसाउनुहुन्छ, पछि फकाउने त मै हो ।’

फिल्डमा महिला र पुरुषहरु फरक हुन जस्तो लाग्दैनः बोना-​प्रहरी सेवामा प्रवेश गरेदेखि नै ट्राफिक भएर काम गरेकी बोनालाई फिल्डमा खटिँदा महिला र पुरुष फरक जस्तो लाग्दैन । ‘फिल्डमा हामी पुरुष जत्तिकै अब्बल छौं, अझ पुरुषहरू त अलि लचक होलान्, ट्राफिक नियम मिच्नेलाई हामी त कडा हुन्छौं,’ बोनाले भनिन् ।कहिलेकाहीँ भने सवारी चालकहरूले जाम खुलिसक्दा पनि महिला ट्राफिक प्रहरीलाई ट्वाल्ल परेर हेर्छन् । त्यस्तो देख्दा भने उनलाई रिस उठ्छ ।

महिला ट्राफिकले लगाएको सेतो टोपी र निलो शर्टले लोभ्याएको प्रहरीको जागिर-बोनालाई सानो हुँदा महिला ट्राफिक प्रहरीले निलो सर्ट, सेतो टोपी र बुट चट्ट पारेर लगाएको देख्दा प्रहरी हुने इच्छा जागेको थियो ।त्यही इच्छाले उनी २०६३ सालमा प्रहरीमा भर्ना भएकी थिइन् ।‘संयोगले सानोमा मन पर्ने ट्राफिक प्रहरी नै भएँ, अहिलेसम्म पनि ट्राफिक नै छु,’ बोनाले भनिन् ।शुरूशुरूमा सडकमा सिट्ठी फुक्न उनलाई लाज लाथ्यो, अहिले भने सामान्य नै लाग्छ ।लोकान्तर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *