मेलम्चीको पानीले छेलोखेलो, सडकमै बग्यो खोलो, आज बालाजुको पालो

समाचार

काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि छेलोखेलो भएको छ । महिनामा ७ देखि ९ दिनको फरकमा २ घण्टा पानी पाउँदै आएका काठमाडौका बासिन्दाले दैनिक पानी पाउन थालेपछि छेलोखेलो भएको हो । बानेश्वर ठूलो खरिबोटकी सरिता चौलागाई भन्नुहुन्छ ‘पहिलो दिन पो भए भरका सबै भाँडो थापें, भोलिपल्ट देखि के मा थाप्ने ? पानी आउँछ लोभै लाग्छ, थापुँ पानीले भाँडो टनाटन भरिएको छ ।’

पानीको सहज उपलब्धताले घरमा मात्र होइन, सडकमा पनि खोलो बगेको छ । काठमाडौ नयाँ बानेश्वर, थापा गाउँ लगायत स्थानमा सडकमा मेलम्चीको खोलो नै बगेको छ । जमिनमुनि बिछ्याईएको पाइप फुटेर सडकमा पानी निस्किँदा सडकको दायाँ बायाँको ड्रेनेजबाट खोला झैं भएर बग्न थालेको हो ।

यद्यपि पानीको चुहावट भएको बारे सम्बन्धित खानेपानी वितरण शाखाहरुमा खबर आईरहेको र त्यहाँ गठित क्विक रेस्पोन्स टिमले जत्ति सक्दो चाँडो टोली परिचालन गर्दै आएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिनुभयो ।

यद्यपि काठमाडौका कतिपय ठाउँका बासिन्दाले भने धारामा पानी नआएको दशौं बर्ष भएको र अहिलेसम्म पनि मेलम्चीको पानी नआएको गुनासो गरेका छन् । केयूकेएलले भने पानी नआएमा वा टुटफुट भई सडकमा चुहावट भएको देखिएमा सम्बन्धित शाखा कार्यालयहरुमा जानकारी गराउन अनुरोध गरेको छ । केयूकेएलका हरेक शाखा कार्यालयको नाममा फेसबुक पेज खोलिसकेको र सर्च गरेको खण्डमा त्यहाँ नम्बर भेटाउन सकिने जनाएको छ ।

खानेपानी मन्त्रालयले गुनासो सुनुवाईका लागि पैसा नलाग्ने नम्बर ११३९ मा फोन गरी आफ्ना गुनासा टिपाउन पनि आग्रह गरेको छ ।

बालाजु वितरण केन्द्रबाट आज वितरण हुँदै
महांकालचौर, मीनभवन, खुमलटार, अनामनगर लगायत रिजर्भ्वायर ट्याङ्कबाट १५ गतेदेखि नै पानी वितरण गरिरहेको भए पनि बालाजु वितरण केन्द्रबाट भने आजबाट मात्र मेलम्चीको पानी वितरण गर्न लागेको छ । बालाजु पार्क बालाजु वितरण केन्द्रबाट अहिले बिहान ५ः३० बजेदेखि नै पानी वितरण गरिने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृतले शाक्यले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का २ लाख ३० हजार धारा रहेको र हरेक धारामा दैनिक १ हजार लिटरको दरले पानी पठाईने यस अघि नै जानकारी गराईसक्नु भएको छ ।

सुरुका दिनमा दैनिक ४ करोड लिटर पानी वितरण गरेको भएपनि अहिले दैनिक साढे ८ करोड लिटर वितरण गरिरहेको छ । अब केही दिनमै दैनिक १८ करोड लिटर पानी आपूर्ति गरिने केयूकेएलले जनाएको छ । केयूकेएलका अनुसार काठमाडौ उपत्यकामा दैनिक १७ करोड लिटर पानीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *