मेलम्चीको पानी पाउने काठमाडौंवासीको सपना पुरा , सुन्दरीजलमा खस्यो मेलम्चीको पानी

समाचार

काठमाडौं। आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको हो ।

मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।

गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीको पानी खसेको हेर्न सुन्दरीजल पुगेका छन् ।

सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌।​ यसैबीच खानेपानी आउने अन्तिम बिन्दुमा सजगता अपनाइएको आयोजनाले जानकारी दिएको छ। अन्तिम बिन्दुमा ढोका बन्द गरी आवश्यक सजगता अपनाइएको आयोजनाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *