लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने

समाचार

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो ।

विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालले भने ।

भुसालका अनुसार विभागबाट सञ्चालमा रहेको इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रक्रियासमेत अद्यावधि गरिएको छ ।

यो पनि पढ्नुहोस : नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो :

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो ।

झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।”गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा भुषालले जानकारी दिनुभयो । “अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्”, उहाँले भन्नुभयो, “फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *