जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

रोजगार खबर

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ।

गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो। गणक तथा सुपरिवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरेको हो।

विभागले आइतबार पत्रकार सम्मेलन गर्दै गणनाको तयारी भइरहेको जनाएको छ। करारमा गणक तथा सुपरिवेक्षक भर्ना गरेपछि उनीहरूलाई आवश्यक तालिम दिइनेछ। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणनाका लागि परिचालन गर्ने विभागको तयारी छ। गणक र सुपरिवेक्षक पदका लागि इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।

जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनले बताए। मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *