सवारी चलाउने लाइसेन्सको ट्रायल दिँदा अब नयाँ नियम, पहिले भन्दा सजिलो हुने भयो ट्रायल पास गर्न

समाचार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षाको स्वरुपमा परिवर्तन हुने भएको छ ।

सवारी साधनको प्रयोगात्मक मानिने ट्रायल परिक्षामा अहिले कुनै एक पारामिटरमा असफल भए परिक्षार्थी लाइसेन्स पाउनबाट बञ्चित हुने अवस्था छ ।

अब यस्तो परिक्षाको परम्परामाथि पुनरावलोकन हुने भएको छ । ट्रायल फेल भएपनि बिचौलिया मार्फत पैसा दिएर लाइसेन्स निकाल्ने पाइएपछि यस्तो नियममा पुनरावलोकन हुने भएको हो ।

पछिल्लो समय ट्रायलमा फेल हुने धेरै हुन्छन् । तर उनीहरुले पनि पैसा दिएर लाइसेन्स बनाउने गरेको पाइन्छ ।

यस्तै कार्य रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ ।

ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन ।

‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भनेको समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *