फेरि स्कुल बन्द र जाेरबिजाेरकाे तयारी, बिनाकाम घरबाहिर ननिस्कन वातावरण विभागकाे अपिल

समाचार

काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेसँगै वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको छ । ‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवम् दम, खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुरोगीलगायत दीर्घ रोगीहरू बढी प्रभावित हुने भएकाले बाहिर ननिस्कन अपिल गरेका हौँ ।’

वायु प्रदूषणले काठमाडौंमा आँखा पोल्ने तुवाँलाे

घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । प्रवक्ता जोशीले हालको प्रदूषण मौसमी कारणले भएको बताए । ‘अहिले कलकारखाना र सवारीसाधन धेरै चलेको पनि छैन’, उनले भने, ‘मौसमका कारण प्रदूषण बढेको हो ।’उनका अनुसार सोमबारको तुलनामा मंगलबारको मौसम सुधार हुनुका साथै प्रदूषणको मात्रा केही घटेको छ । ‘एक/दुई दिनभित्रमा प्रदूषणको मात्रा नघटेमा विद्यालय, कलकारखाना बन्द गर्ने र सवारी जोरबिजोरमा चलाउनेसम्मको योजना बनाएका छौँ’, उनले भने ।

वायु प्रदूषण भएको ठाउँमा कोरोना संक्रमितको मृत्यु हुने सम्भावना पनि बढी

विभागले फोहोरजन्य प्लास्टिकहरूका कारण थप प्रदूषण बढ्ने भएकाले नबाल्न पनि अनुरोध गरेको छ । यस्तै अवस्था भएपछि गत वर्ष भारतको राजधानी नयाँ दिल्लीवासीलाई त्यहाँको सरकारले ५० लाख मास्क वितरण गरेको थियो । वायु प्रदूषणले गम्भीर स्वास्थ्य संकट सिर्जना गर्न थालेपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल समेत घोषणा गरेको थियो ।रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ । एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ छ भने अधिकतम ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।

यसअगाडि कात्तिक २०७६ मा एक युरोपेली संस्थाले प्रकाशित गरेको एक रिपार्टमा काठमाडौं संसारका प्रदूषित राजधानीमा काठमाडौं सातौँ स्थानमा थियो । सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्यूआईले सोमबार ७.४५ बजे काठमाडौंको एक्यूआई ४८७ पुगेको देखाएको छ ।अचानक काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको उच्च तहमा पुग्नुमा तीनवटा कारण रहेको वातावरणाविद् भूषण तुलाधर बताउँछन् ।

पहिलो, तुवाँलो वा बादलका कारण उपत्यकाभित्र पहिलेदेखि नै रहेको प्रदूषण बाहिर जान पाएन । जाडो मौसममा घाम कम लाग्ने, तापक्रम न्यून हुने र तुवाँलो लाग्ने भएकाले प्रदूषित हावा सतहमै रहने हुँदा प्रदूषण बढेको हुन सक्ने तुलाधरकाे ठम्याइ छ ।दोस्रो, पछिल्लो समय पाथिभरा क्षेत्र र लाङटाङ राष्ट्रिय निकुञ्जसहित उपत्यकाआसपासका क्षेत्रमा लामाे समयसम्म डढेलाे लग्याे । आगलागीबाट निस्केको धुवाँ उपत्यकाभित्र आएर गुम्सिएर पनि प्रदूषण बढेको अनुमान छ ।

तेस्रो, उपत्यकाभित्रै बढेको प्रदूषणका स्रोतले पनि वायु प्रदूषण बढाएको हुन सक्ने उनी बताउँछन् ।जाडो मौसममा आगो ताप्ने, फोहोर बाल्ने चलनले गर्दा पनि प्रदूषण बढेको उनको आकलन छ । ३ माघ २०७६ मा मन्त्रिपरिषद्ले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना- २०७६ जारी गरेको थियो । उक्त कार्य योजनामा प्रदूषणको सूचकाङ्क ३ सयभन्दा माथि पुगेमा जनस्वास्थ्य विपद्का रूपमा लिइने उल्लेख छ । तर, प्रदूषण सूचकाङ्क ५ सयआसपास पुग्दा पनि सरकार भने मौन छ ।शिलापत्र संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *