एक सरकारी कर्मचारीको इमान्दार प्रयासले सर्वश्व गुम्नबाट जोगियो, झर्‍यो हर्षका आँशु

समाचार

काठमाडौं । एउटा सरकारी कर्मचारीको सामान्य लापरबाहीले मानिसको सर्वस्व गुम्छ । अनि त्यही कर्मचारीको इमान्दार प्रयासले मानिसको सर्वश्व गुम्नबाट जोगिन्छ ।यस्तै घटना धनकुटामा भएको छ ।

धनकुटाको सिधुवा प्रहरी चौकी अन्तर्गत ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी जवानको इमान्दार प्रयासले एक दम्पतिको लाखौँ रुपैँयाको गहना र नगद समेत फेला परेको छ ।घटना शनिबार साँझ तिरको हो । भोजपुरको अरुण गाउँपालिका–१ बाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ को मारेकटहरेमा दशैँको टीका लगाउन अनिल गौतमका दम्पति बस चढेर जाँदै हुनुहन्थ्यो ।

टीका लगाउन हिँड्नु भएका अनिल गौतम र मनिता दाहाल गौतम भोजपुरबाट बसमा आएर हिले झर्नुभयो । हिलेबाट अटोरिक्सा चढेका उहाँहरु छथरजोरपाटी गाउँपालिका–६ सिदुवा बजारमा पुगेर झर्नुभयो । अटोबाट झर्नुभएको उहाँहरुले आफूले ल्याएको झोलाहरु झार्नुभयो तर एउटा झोला भने झार्न बिर्सनुभयो ।

त्यो झोला चानचुने झोला लिएन । झोलामा ७ लाख रुपैँया बढीको गहना र नगद समेत थियो ।जब झोला छुटेको थाहा पाउनुभयो । त्यस पछि उहाँहरुको होस हवास गुम्यो । न चढेको अटोको नं थाहा थियो न चालकको नम्बर ।उहाँहरुले त्यतिधेरै गहना भएको झोला झण्डै माया मार्नुपर्ने अवस्था आइसकेको थियो ।

तैपनि केही उपाय लाग्छ कि भनेर नजिकैको ट्राफिककोमा पुग्नुभयो ।ड्युटीमा हुनुहुन्थ्यो ट्राफिक प्रहरी रामचन्द्र कटवाल । दशैँको भिड ड्युटीमा एक जना मात्र ट्राफिक प्रहरी । ड्युटीको बोझले उहाँको सेवा भावलाई थिच्न सकेन । उहाँ सेवामा खट्नुभयो ।अटोको कुनै पत्तो थिएन ।

जम्मा रंग मात्र थाहा थियो । कटवालले टेम्पो व्यवसायीको अध्यक्षलाई फोन गर्नुभयो । अटोको पहिचान लिने प्रयास गर्नुभयो ।त्यस पछि गौतमलाई आफ्नै मोटरसाइकलमा राखेर अटो खोज्न निस्कनुभयो । ‘सिधुवाबाट माथि चित्रे भन्ने ठाउँमा पुगेपछि को २ ह ६८२० नं अटो फेला पर्यो’, उहाँले भन्नुभयो ।

अटो र चालक देखेपछि गौतमले चिनिहाल्नुभयो । चालकलाई झोला छुटेको बताएपछि उहाँले झोला दिनुभयो । जब झोलामा त्यतिधेरै गहना र नगद भएको थाहा पाउनुभयो चालक पनि झस्किनुभयो ।झोलामा डेढ तोलाको सुनको मंगलसुत्र, १२ आनाको सुनको टप दुईवटा, एक तोलाको सुनको सिक्री एकवटा,

एकतोला बढीको सुनको चुरा दुईवटा, सुनको चन्द्रमा एकवटा, १२ ग्रामको तिलहरी, ६ आनाको सुनको औँठी, चाँदीको पाउजु, नगद २४ हजार, राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र लगायतका सामान थिए । सिदुवा प्रहरी चौकीमा लगेर हेर्दा सबै सामान दुरुस्त थिए ।

‘सबै सामान रुजु गरेर उहाँहरुको जिम्मा लगायौँ, सामान हराउँदा उहाँहरु निक्कै अतालिनुभएको थियो, कालो निलो अनुहार बनाउनुभएको थियो, जब सामान फेला पर्यो उहाँहरुले हर्षको आँशु झार्नुभयो’, कटुवालले भन्नुभयो ।सामान धनी गौतमले आफूहरु ठूलो क्षतीबाट जोगिएको बताउनुभयो ।

हाँले भन्नुभयो, ‘संजोग नै भन्नुपर्यो ट्राफिक प्रहरी फेला पर्नुभयो, उहाँले सहयोग गर्नुभयो र सामान भेटियो नत्र बर्वाद हुने थियो ।’घरबाट ससुराली हुँदै काठमाडौं फर्कन लागेकोले झोला तथा गरगहना समेत बोकेर हिँडेको उहाँले बताउनुभयो । धेरैवटा झोला भएकोले एउटा झोला झार्न छुटेको र त्यही नै महत्वपूर्ण झोला भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *