बैंकबाट ऋण लिएका र लिन चाहनेहरुलाई दुखको खवर !

अर्थ खबर

काठमाण्डौ । प्रणालीमा तरलताको समस्या विकराल बनेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पुनः ब्याजदर बढाउने तयारी थालेका छन् ।

भोलिदेखि दशैंविदा सुरु हुने भएकोले बैंक तथा वित्तीय संस्थाका सीइओहरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने मोटामोटी सहमति भइसकेको छ ।

कात्तिक १ गते प्रकाशित गर्ने गरी केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने भएका छन् भने यो पटक फाइनान्स कम्पनीहरुले भने ह्वात्तै ब्याजदर बढाउने छन् ।

असोज १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका थिए । सो क्रममा केही वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याजदर अफर गरेका थिए ।

विकास बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत (राष्ट्रबैंकका निर्देशनपछि ९.५ प्रतिशतमा झारेका) सम्म पुर्याएका थिए । असोज १ गतेबाट ब्याजदर आक्रामक रुपमा बढाउन वाणिज्य बैंक अगाडि देखिएका थिए भने विकास बैंकहरुले पनि उनीहरुको पद्चाप पछ्याएका थिए ।

असोज १ गतेदेखि ब्याजदर वृद्धिको दौडमा फाइनान्स कम्पनीहरु चाहिँ अलिक सम्हालिएका थिए । तर, वाणिज्य बैंकमै १० प्रतिशतभन्दा बढी ब्याज पाइने भएपछि फाइनान्स कम्पनीमध्ये धेरैले निकै ठूलो भोल्युममा निक्षेप गुमाउनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *