झण्डै एक अर्बमा चितवनको अविनाश पोल्ट्री फार्म क्यानडाको गैरआवासीय नेपाली समूहले किन्यो

समाचार

चितवन-चितवनको भरतपुर महानगरपालिकाको गाँजीपुरमा रहेको अत्याधुनिक अविनाश पोल्ट्री फार्म झण्डै एक अर्ब रुपैयाँमा बिक्री भएको छ ।उद्योगपति गुणचन्द्र विष्टको मुख्य लगानी रहेको अविनाश फार्म आठ वर्ष अघि स्थापना भएको थियो ।

फार्म क्यानडाका गैरआवासीय नेपाली अरुण ढुंगेलको समूहले ९२ करोड २५ लाख रुपैयाँमा किनेको हो ।चितवनका उद्योगी विष्टले व्यापारीले उद्योग बेच्ने र किन्ने सामान्य विषय भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मेरो चितवनमा धेरै क्षेत्रमा लगानी छ ।

त्यो मध्ये मैले खाने अण्डा उत्पादन गर्ने फार्म बेचेको हो । मैले नेपालको झण्डै ८० ठाउँमा लगानी गरेको छु ।’ उनले आफू १५ वर्षको उमेरदेखि अहिले ६८ वर्षको उमेरसम्म व्यापार तथा व्यवसाय गरिरहेको बताए ।यो पोल्ट्री फार्म अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी र स्थानीय तारा काफ्लेको लगानी थियो ।

यो कम्पनीमा विष्टको नाममा ८० प्रतिशत र भण्डारी तथा काफ्लेको नाममा १०÷१० प्रतिशत सेयर थियो ।विष्टले फार्म बिक्री भइसकेको बताउँदै नयाँ व्यवस्थापनलाई हस्तान्तरणसमेत गरिसकेको नारायणी अनलाइनलाई जानकारी दिए। अविनाश नेपालकै पहिलो अटोमेटेड फार्म हो ।

कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्सन गर्ने, तौलअनुसार ग्रेड छुट्याउने र प्याकेजिङसम्म सबै मेसिनबाट हुन्छ ।उनका अनुसार नयाँ समूहले विस्तार गरेर चलाउन सके अझै राम्रो मुनाफा गर्न सक्छ । विष्टको नवलपरासीमा झण्डै पाँच अर्ब लगानीमा अविनाश ह्याचरी छ ।

भण्डारी पनि २०५० सालदेखि नै पोल्ट्री व्यवसायमा थिए । उनले त्यही बेलामा संजिवनी पोल्ट्री फार्म सञ्चालन गरेका थिए । विसं २०१९ सालमा काठमाडौँबाट चितवन झरेका विष्ट चितवनका पुराना उद्योगीका रुपमा परिचित छन् । खाद्यान्न व्यवसायबाट हात हालेका उनको पोल्ट्री, गृहलक्ष्मी मेटल, एलपी ग्यास र घरजग्गा व्यवसायमा लगानी रहेको छ ।

यो फार्ममा अहिले अण्डा दिने दुई लाख लेयर्स कुखुरा छ । साढे नौ बिघा जग्गामा यो फार्म फैलिएको छ । फार्म किनेका गैरआवासीय नेपाली ढुंगेलले अत्याधुनिक फार्ममा सम्भावना देखेर ठूलो लगानी गरेको बताए । फार्ममा लगाइएको अटोमेटिक मेसिनसमेत युरोपेली स्ट्यान्डर्डको छ ।

सबै अटोमेटेड भएको अत्याधुनिक फार्म विस्तार गर्न सक्ने सम्भावना देखेर हामीले लगानी गरेका हौं । ढुंगेलले फार्म किन्नु अघि यस क्षेत्रमा राम्रो अनुसन्धान गरेर मात्र किनेको देखिन्छ । उनका अनुसार अविनाशको अण्डा माग अनुसार पुर्‍याउनै पुर्‍याउनै सकिएको छैन ।

‘ग्रेडिङ गरेको सफा अण्डा भएकाले यसको माग उच्च रहेछ । तर माग अनुसार अहिले पनि पुर्‍याउन सकिएको छैन । हामी आएपछि क्षमता विस्तार गरेर यसलाई अगाडि बढाउनेछौं,’ उनले भने । उनको समूहले क्षमता विस्तार र फार्मका लागि मेगा बैंकबाट ऋण लिएका छन् । क्षमता विस्तारसँगै यो प्रोजेक्ट एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

उनको समूहमा विकासचन्द्र भट्टराई पनि साझेदार छन् । भट्टराई तीन दशकदेखि कुखुरापालन व्यवसायमा संलग्न छन्। कृषि क्षेत्रमा चार अर्ब लगानी गर्ने तयारीका साथ चितवन भित्रिएको यो समूहले अविनाशबाट काम सुरु गरेको जनाइएको छ । अब झन्डै तीन अर्ब लगानी थप्ने समूहको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *