१९६ बालबालिकाको जीवन परिवर्तन गरेको मामाघर नेपाल: सडकमा सुत्थे हक्कीका नेपाली कप्तान राजु

समाचार

मकवानपुरको सिस्नेरी घर भएका राजुका बुबा आमाले अन्तरजातीय विवाह गरेका कारण सिस्नेरी छोडेर हेटौंडा बसाई आउनु परेको थियो । केही समयपछि उनको बुबाको निधन भयो । बुबाको निधनपछि आमाले अर्कै विवाह गरिन् । आमाले अर्कै विवाह गरेर गएपछि यी वालक सडकमा पुगे ।

उनलाई उपप्रध्यापक अर्पण पराजुलीले हेटौडामा स्थापना गरेको सामाजिक संस्था मामाघर नेपालले सडकबाट वालकलाई उद्धार गरेको थियो । मामा घरले संरक्षण गरेर हुर्काएको र अहिले पनि सोही संस्थाको संरक्षणमा रहेका राजु अहिले नेपालको चर्चित हक्की खेलाडी हुन् ।

हक्की प्रशिक्षक मनोज शर्माले उनलाई प्रशिक्षित गरेका हुन् । अहिलेसम्म राजुले दर्जनौ खेलहरु खेलिसकेका छन् । उनी हक्कीको विश्व कपका लागि विदेश जाने तयारीमा थिए । बढ्दो कोरोना संक्रमणका कारण ती सबै खेलहरु अहिलेसम्म स्थगित छन् ।

‘अब विस्तारै कोरोना संक्रमण घट्दै गएर सबै अनुकुल हुन थालेपछि भान्जालाई यहाँ भेट्न पाइदैन,’ मामाघर नेपालका संस्थापक पराजुलीले खुसी हुँदै भने ।मामा घर नेपाल, उपप्रध्यापक अर्पण पराजुलीले हेटौडामा स्थापना गरेको सामाजिक संस्था हो । २०५८ साल कात्तिक २७ गते उनले यो संस्था स्थापना गरेका थिए ।

सडक वालवालिकाको अध्ययनका लागि ३ महिना सडकमै बसेपछि र सडक वालकहरुको दर्दनाक दृश्य देखेर/भोगेपछि पराजुलीको मनले मानेन ।त्यसपछि उनले सडकमा बस्ने वालवालिकाहरुको उद्धार कार्यका लागि एक परोपकारी संस्थाको रुपमा मामा घर नेपाल स्थापना गरे ।

पराजुली जतिबेला सडक वालवालिकाको अवस्था बुझ्न ३ महिना सडकमै बसे त्यतिबेला सडक वालवालिकाहरुले उनलाई ‘मामा’ भनेर बोलाए । मामा भनेर वालवालिकाले सम्बोधन गर्न थालेपछि उनले यो संस्थाको नाम पनि ‘मामाघर’ राखे ।अहिलेसम्म मामा घर नेपालले १९६ जना वालवालिकाको सडकबाट उद्धार गरिसकेको छ ।

१३६ जना वालवालिका परिवारमा पुर्नस्थापित भइसकेका छन् भने बाँकी २३ जना वालक(भान्जाहरु) मामा घर नेपालको संरक्षणमा छन् ।संस्था स्थापनाको सुरुवातमा यसको घरभाडा हेटौंडा नगरपालिकाको कार्यालयले व्यहोरिदिन्थ्यो । सुरुवातदेखि २०७६ सम्म नगरपालिकाले संस्था बसेको घरभाडा तिरिदिएको थियो ।

व्यक्तिहरुको जन्म दिन, विवाह भएको वार्षिक उत्सव, सङ्घसंस्थाको स्थापना दिवशको अवसर पारेर मामा घर नेपालमा विभिन्न कार्यक्रमहरु गर्ने, मामा घरलाई आवश्यक खाद्यन्न सहयोग दिने र आर्थिक सहयोग गर्ने दाताहरुको कारण अहिलेसम्म मामा घर नेपाल सञ्चालन भइरहेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा नेपाल सरकारले ५० हजार राशीको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत प्राप्त गरेका पराजुलीले मामा घर नेपाललाई अहोरात्र अघि बढाउन प्रयन्त जारी राखे । मामा घरमा संरक्षणमा रहेका वालवालिकाको शिक्षादीक्षाको उनलाई ठूलो पिरलो थियो ।

वालवालिकालाई उचित शिक्षा दिन उपयुक्त स्थानको खोजी गर्दै जाँदा हेटौंडामा रहेको भुटनदेवी माद्यमिक विद्यालयले उनीसित सहकार्य गर्यो । उनले सो संस्थामा उद्धार गरेर ल्याएका वालवालिकालाई भुटनदेवी स्कूलमा भर्ना गरेर पढाउन थाले । यसपालिको एसईईमा मामा घरकै संरक्षणमा रहेका भान्जा अजय दाहालले ४ जीपीए ल्याएर प्रथम भए ।

अध्ययनका लागि उचित व्यवस्थापन मिलेपछि उनले वालवालिकालाई शारीरीक व्यायामको जाँचोपाँचो कसरी मिलाउने भन्ने चिन्ताले पिरल्यो । त्यसपछि उनले संस्थामा रहेका अन्य साथीहरुसँग पनि सरसल्लाह गरे । वालवालिकालाई एक्स्ट्रा केही गर्न पर्छ भन्ने भएपछि कसले सहयोग गरिदेला भनेर खोजी सुरु भयो ।

मामा घरको यो अभियानमा साथ दिन तयार भयो, मकवानपुर कलिउड कला केन्द्र । कलाकेन्द्रले मामा घरको संरक्षणमा रहेका वालवालिकालाई नृत्य सिकाउने जिम्मेवारी लियो ।त्यसपछि संस्था सञ्चालक पराजुलीलाई वालवालिकाको स्वास्थ्य परिक्षणको लागि आवश्यक व्यवस्था मिलाउनु थियो ।

उनले हेटौंडा मेडिसिन पोलिक्लिनिकलाई अनुरोध गरे, पोलिक्लिनिक पनि मामा घरका भान्जाभान्जीहरुको स्वास्थ्य उपचार गर्न तयार भयो निशुल्क ।त्यसपछि हामी निकै खुसी भयौँ, पराजुलीले भने – सबैको साथ नपाएको भए यो महान् काम अघि बढ्न सक्दैनथ्यो ।

त्यसैगरी हेटौंडा फुटवल एकेडेमीले संरक्षित वालकहरुलाई निशुल्क तालिमको व्यवस्था मिलाएको छ ।मकवानपुरका दर्जनौ सामाजिक सङ्घ संस्था र सरकारी निकायहरुले मामा घर नेपाललाई सम्मान गरेका छन् ।हेटौंडाका व्यवसायी सिद्धिलाल श्रेष्ठले गरेको सहयोग यो संस्थाको निम्ति महत्वपूर्ण टर्निङप्वाइन्ट भयो ।

हेटौंडा– ११ थानाभर्याङमा उनै श्रेष्ठले मामा घर नेपाललाई ३ कठ्ठा २ धुर जग्गा दानमा दिए । त्यसपछि मामा घरले ‘एक व्यक्ति एक इट्टा’ अभियान चलायो । जसले जति सक्छ त्यति नै सहयोग गरे ।जसको परिणाम स्वरुप अहिले मामा घरको २१ वटा कोठासहितको आधुनिक सुविधा सम्पन्न भवन बन्यो ।

१२ वटा शौचालय, किचन र डाइनिङ, बेड रुम, सभा हल जस्ता सबै सुविधा भएको भवन बन्यो ।र, कोठा भाडामा लिएर सञ्चालन भइरहेको मामा घर २०७७ साल फागुनबाट आफ्नै घरमा सर्यो ।अर्पण पराजुली, मकवानपुरको साबिक नामटार गाविस वडा नं. ७ (हाल कैलाश गाउँपालिका) मा २०३४ साल फागुन २४ गते जन्मिएका हुन् ।

उनको बुबाको नाम खडानन्द र आमाको नाम मनमाया पराजुली हो ।पीएचडी अध्ययनरत पराजुली हेटौंडा क्याम्पसको सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत छन् । २०६३ बाट अध्यापन पेसामा लागेका उनले २०६८ मा मामा घर नेपाल नामक संस्था सुरु गरेका हुन् ।

तत्कालिन जिल्ला विकास समिति, हेटौंडा नगरपालिकालगायत एक सय भन्दा बढी संङ्घसंस्थाबाट उनले सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।मामा घर सञ्चालनमा ल्याएदेखि हालसम्म उनको मनमा दुई वटा विषय खड्किरहेको छ ।‘वालवालिका सडकमा आउन क्रम कहिल्यै पनि रोकिएन,’ उनले भने – ‘दोस्रो, सडकबाट उद्धार गरी संरक्षणमा राखेको बच्चा ठूलो भएपछि कहाँ जाने ?’

उद्धार गरी ल्याएको बच्चा ठूलो भएपछि सरकारले नै उसलाई बसोबासको उचित प्रबन्ध मिलाउनुपर्ने धारणा उनको छ ।जग्गा जमीर घर परिवार र आफन्त नभएकाहरुलाई सरकारले बसोबासको प्रबन्ध गरिदिनु पर्छ, पराजुलीले भने – ‘बच्चाहरु सडकमा आउने अवस्था पनि रोकिनुपर्छ, त्यसका लागि सरकारले केही नीतिहरु बनाउन आवश्यक छ ।’प्रस्तुती: गिरिजा अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *