काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा, अरनिको राजमार्ग ठप्प

समाचार

रातभर परेको अविरल वर्षाका कारण काठमाण्डौ उपत्यका र यस आसपासका क्षेत्रको जनजिवन प्रभावित भएको छ ।आईतबार रातीदेखि सोमबार विहानसम्मको भारी वर्षातका कारण अहिले काठमाण्डौ, ललितपुर र भक्तपुरको सडक जलमग्न बनेका छन ।

सडकमा पानीको ठुला ताल बनेकाले यातायात आवागमन र पैदलयात्रुलाई समस्या परेको छ ।वर्षाले उपत्यकाका सबै खोलाहरु जलमग्न भएका छन् । काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला महनोहरा, हनुमन्तेलगायतमा ठूलो बाढी आएको छ ।

अभिरल बर्षाका कारण टुकुचा, धोविखोला महनोहरा, हनुमन्ते खोला नजिकका बस्तीहरु लगमग्न भएका छन् ।खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवतजावतमा समस्या भएको छ । पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।

त्यस्तै हनुमन्ते खोलका कारण भक्तपुरका धेरै स्थान जलमग्न हुन पुगेका छन् भने मनोहरा खोलाका कारण मुलपानी, विस्टगाउँ, काडाघारी लगायत स्थानमा डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर तथा ढुंगेअड्डाका खोला किनारमा रहेका अधिकांश घरहरुको भूइँतलामा बाढी पसेको छ ।

त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा मध्यपुरथिमी, बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन् । बाढीले सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, राधेराधे, शंखधरचोक, बालकोट, चारदोबाटो लगायतका क्षेत्रमा बाढी पस्न लागेको छ ।

वर्षातसँगै आएको बाढि काठमाण्डौको कलंकी क्षेत्र भक्तपुरको सल्लाघारी र ललितपुरको एकान्तकुना क्षेत्रमा घरहरुमा समेत पसेको स्थानीयले जानकारी दिएका छन । वर्षातसँगै आएको बाढिले काभ्रेको बनेपामा पुरै सडक जलमग्न भएको खबर छ । जसका कारण अरनिको राजमार्ग हुदै आवातजावत गर्ने सवारी साधनहरु पूर्ण रुपमा बन्द छन ।

काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षाकाठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताउनुभयो । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ। आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *