ओली गुटमा पहिरो, प्रेम आलेले माधव नेपाललाई दिए १५ सांसदको ग्यारेन्टी

राजनीतिक खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुटमा पहिरो गइरहेको छ । ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधव नेपाल गुटमा जान थालेका छन् । ओली गुटबाट सांसद तान्न पूर्वमन्त्री प्रेमबहादुर आले सक्रिय छन् ।

आलेले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर १५ सांसद तान्नसक्ने बताएका छन् । उनले सबै तयारी भइसकेको बताउँदै मन्त्रालयको संख्याबारे कुरा गरेको बुझिएको छ । उनले १५ सांसद तान्न कम्तिमा ४ मन्त्रालय पाउनुपर्ने विषय पनि राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

४ मन्त्रालय पाएमा १५ सांसद तान्ने ग्यारेन्टी समेत गरेको बुझिएको छ ।यसअघि आलेले ओली गुट छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उनको पहलमा ओली गुटबाट केही सांसदले कित्ता परिवर्तन गरेका थिए ।आले अहिले सांसदहरु तान्न खटिएका छन् ।

उनले ओली गुटका सांसदहरुसँग सम्पर्क गरी कुराकानी बढाएका छन् ।उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन् ।

स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन् ।‘पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक संकट निम्त्याउने काम केपी ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘कारबाही त केपी ओलीलाई पो गर्नुपर्छ अब ।’

अध्यक्ष ओलीले पार्टी विधान समेत पालना नगरी अवैधानिक गतिविधि गरेको उनको भनाइ छ । संविधानको धारा ७६(५) ले दिएको अधिकार प्रयोग गरी स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *